RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७६/११/२२ गते
९१० पटक

हेमन्त केसी
जाजरकोट । नेपालको संविधानमको धारा ३५ को स्वास्थ्यसम्बन्धी हकको उपधारा (१) ले ‘प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने हक हुनेछ र कसैलाई पनि आकस्मिक स्वास्थ्य सेवाबाट वञ्चित गरिनेछैन’ भन्ने स्पष्ट व्यवस्था गरेको छ । तर लामो समयदेखि गाउँमा फैलिएको रुघाखोकीबाट ८० भन्दा बढी बिरामी भए पनि गाउँमा सिटाममोल समेत नभएपछि त्रिपुरासुन्दरी नगरपालिका–१ करेलीकाँडाका स्थानीयले उक्त संवैधानिक हक प्रयोग गर्न सरकार समक्ष लिखित निवेदन दिएका छन् ।

गाउँभरीका मानिसहरु बिरामी भएर समस्या भयो, छिटो उपचार गर्न स्वास्थ्यकर्मी परिचालन गर्नुपर्ने माग गर्दै स्थानीयको तर्फबाट गाउँका ताम्बा लामा र जयबहादुर लामाले त्रिपुरासुन्दरी नगरपालिकामा यही फागुन १८ गते लिखित निवेदन दर्ता गरेका हुन् ।

‘हप्ता दिन अघिदेखि फैलिएको रुघाखोकी र ज्वरोेको लक्षण भएको रोगबाट गाउँका ८० भन्दा बढी बिरामी परेका छन्’ कर्णालीपत्रलाई जानकारी दिएका निवेदक ताम्बा लामाले भने, ‘सामान्य सिटामोल र बिरामीको जाँच गर्ने स्वास्थ्यकर्मीको व्यवस्था गर्न स्थानीय सरकार समक्ष लिखित निवेदन दिए पनि सुनुवाई नभएपछि हामीले तपाईलाई खबर गर्न बाध्य भएका हौं ।’
बिरामीले गाउँका अधिकांश घर खाली नभएपछि सोमबार बेलुकी केही औषधि र कम्पासको भरमा पुगेका स्वास्थ्यकर्मीबाट सामान्य खालको उपचार शुरु गरेपछि सबै गाउँका बिरामी जम्मा हुँदा उपचारमा समस्या भएपछि गाउँबाट गएका स्वास्थ्यकर्मी अहिलेसम्म नआएको लामाले बताए ।

गाउँभरीमा स्थानीयबासीहरु रोगबाट पीडित भएपछि उपचार गर्न टाढाको स्वास्थ्य संस्थामा लिने व्यक्ति नै नहुँदा थप समस्या भएको स्थानीय रसी लामाले जानकारी दिए । ‘एकै घरमा १० जनासम्म बिरामी भएपछि उपचारमा समस्या निकै समस्या भएको छ ।’ उनले भने, ‘उपचारमा खटिएका स्वास्थ्यकर्मीसँग प्रयाप्त मात्रामा सिटामोलसमेत छैन । उपकरण नहुँदा गाउँ पुगेका स्वास्थ्यकर्मीले अनुमानका भरमा बिरामीको स्वास्थ्य परीक्षण गर्ने गरेका छन् ।’

आफ्नो घरमा ९ जना बिरामी भए पनि कसैले सिटामोलसमेत नपाएको गुनासो बुजबहादुर बोहोराले गरे । ‘घरमा बिरामी हुन थालेको १० दिन भयो’ उनले भने, ‘परीवारका सबै सदस्य ओछ्यानको ओछ्यानमै छौं । टाउको दुख्ने ज्वरो आउने, रूघाखोकी लाग्ने घाँटी दुख्ने र पखाला समेत लागेको छ तर यसको औषधि कतैबाट पाएका छैनौ ।’ अर्का बिरामी चन्द्रमति लामाले आफूसहित ५ वर्षीय छोरा लक्ष्मीकान्त लामा र ३ वर्षीय छोरा सोनाम लामा एक सातादेखि ज्वरो र खोकीले थला परेको बताइन् । उपचार गर्नका लागि मेडिकल जान र आउन मात्र ४ घण्टा लाग्ने बताएकी उनले गाउँमा भएका स्वास्थ्य संस्थामा औषधि र स्वास्थ्यकर्मी नहुने बाहिरका मेडिकलमा उपचारका लागि जानलाई आफूसँग पैसा नभएको गुनासो गरिन् ।

विद्यालय बन्द

विद्यालयमा आउने बिरामी विद्यार्थीको संख्या बढ्न थालेपछि गाउँको लेखनाथ आधारभूत विद्यालय केही दिनका लागि बन्द गरिएको छ । गाउँमा बिरामीको संख्या दिनप्रतिदिन बढ्दै गएको तर उपचार गर्ने बारेमा कतैबाट केही पहल नभएपछि आफूले विद्यालय बन्द गरेको विद्यालयका प्रधानाध्यापक नवराज बुढाले जानकारी दिए । उनका अनुसार विद्यालय गएका विद्यार्थी बिरामी परेर रूने, काम्ने गर्दै एकपछि अर्को गर्दै सबै थला परेकाले विद्यालय व्यवस्थापन समितिको बैठक बसेर विद्यालय बन्द गरिएको हो ।

हात छामेर स्वास्थ्य परीक्षण

छोटो समयमै अनपेक्षित रुपमा गाउँमा बिरामीको संख्या बढेपछि गाउँ पुगेका सीमित स्वास्थ्यकर्मीले बिरामीको हात छामेर स्वास्थ्य परीक्षण गरेका छन् । उपचारका लागि गाउँमा रहेका अहेव शेरबहादुर कठायतले अधिकांश बिरामीमा खोकी लाग्ने, छाती दुख्ने र कम्तीमा १०२ फरेनहाइट ज्वरो आउने लक्षण देखिएको बताए । ‘गाउँमा बिरामीको संख्या निकै धेरै छ’ कठायतले कर्णालीपत्रसँग भने, ‘वास्तवमा बिरामीलाई के भएको हो भन्ने बारेमा हामीले अहिलेसम्म केही भन्न सक्ने अवस्था छैन ।’ भाइटल साइनका आधारमा रोग पत्ता लाग्न गाह्रो हुने उल्लेख गरेका उनका अनुसार बिरामीको नमूना संकलन गरेर सुविधासम्पन्न अस्पतालमा परीक्षण नगरुञ्जेलसम्म के भएको भन्न सकिने अवस्था छैन  । यो समाचार तयार पारुञ्जेलसम्म त्रिपुरासुन्दरी नगरपालिकाबाट खटिएका स्वास्थ्यकर्मीसँग थोरै सिटामोल, थर्ममिटर बाहेक अरु कुनै औषधि र उपकरण नभएको सम्बन्धित गाउँमा पुगेका पत्रकार विष्णुप्रसाद देवकोटाले जानकारी दिए ।

चिकित्सकको टोली बाटोमै

बिरामीमा लागेको रोग पत्ता लागउन र बिरामीको नमूना संकलनका लागि कर्णाली प्रदेशबाट खटिएको चिकित्सकसहितका ल्याप टेक्निसियनको टोली प्रभावित क्षेत्रतर्फ गएको डोल्पाका प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले जानकारी दिए । ‘प्रदेशबाट खटाइएका डा. ईन्द्रबहादुर थापाको नेतृत्वको टोली जिल्ला पुगेको छ’, उनले भने, ‘टोलीमाल्याप टेक्निसियन कमलकुमार थापा जिल्लाका डा. मेलिना हमाल, एचए सारङ्गा रोकायलगायतको टोली रोग प्रभावित क्षेत्रतर्फ गएको छ ।’ टोलीले संकलन गरेको नमूना काठमाडौंको टेकु अस्पतालमा पठाएपछि वास्तवमा के भएको हो भन्ने बारेमा एकिन गर्न सकिने उनको भनाई छ ।

प्रतिकृया दिनुहोस्