RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७६/११/२३ गते
९८८ पटक

पोखरा/नेपालगन्ज – कोरोना भाइरसको सम्भावित संक्रमणबाट बच्न मास्कको माग बढेसँगै कालोबजारी सुरु भएको छ। मास्कको कालोबजारीका कारण पोखरा र नेपालगन्जका बजारमा अस्वाभाविक मूल्य तिर्नुपरेको गुनासो उपभोक्ताले गरेका छन्। माग बढेसँगै औषधि पसलेले अस्वाभाविक मूल्य बढाएर बेच्न थालेका हुन्। कृत्रिम अभाव सिर्जना गरी महँगोमा मास्क बेचेर रातारात पैसा कमाउने व्यापारीको समूह यस धन्दामा लागेको छ।

कास्की प्रशासनले बिहीबार पोखरामा गरेको बजार अनुगमनका क्रममा अस्वाभाविक मूल्य लिएर मास्क बिक्री गरिएको फेलापरेको छ। अस्वाभाविक मूल्यमा मास्क बेच्ने औषधि पसल सञ्चालकलाई कारबही गर्ने प्रशासनले जनाएको छ। कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालका अनुसार अनुगमन टोलीले पोखराको अस्पतालचोकस्थित परी फार्मेसी, महेन्द्रपुलस्थित स्याङ्जा मेडिकल हल र पस्र्याङस्थित अतिश मेडिकल फर्मामा छापा मारेको थियो। अनुगमनका क्रममा ती औषधि पसलले १० रूपैयाँ मूल्य पर्ने मास्कलाई ३० र ८० रूपैयाँ पर्ने मास्कलाई चार सय ५० मा बिक्री गरेको पाइएको टोलीका एक सदस्यले बताए। ‘अधिक मूल्य असुल्ने तीनवटै मेडिकल पसललाई शुक्रबार प्रशासनमा हाजिर हुन निर्देशन दिएका छौं,’ ढकालले भने, ‘कालोबजार ऐनअनुसार ती मेडिकल सञ्चालकलाई कारबाही हुन्छ।’ अनुगमन टोलीले ती पसल बन्द गराएको छ।

उपभोक्ता मञ्च कास्कीका अध्यक्ष कपिलनाथ कोइरालाले औषधि पसलेले मास्कमा समेत कालोबजारी गरिरहेको बताए। ‘अभाव भएका बेला पाँच÷दस रूपैयाँ बढी मूल्य लिनु स्वाभाविक होला तर ८० रूपैयाँ पर्ने मास्कलाई चार सय ५० रूपैयाँमा बिक्री गरिएकोे छ,’ कोइरालाले भने, ‘यो त लुट नै भयो। अप्ठेरो परेका बेला सहज सेवा दिनुपर्नेमा कमाउने उद्देश्य राखेर मास्कको कालोबजारी गर्नु राम्रो होइन।’ अनुगमन टोलीले तीनवटा पसलबाट डेढ सयजति मास्कसमेत जफत गरेको उनले बताए। उनका अनुसार औषधि पसलेले आफन्त र चिनेजानेबाहेक अरूलाई मास्क बिक्री गर्नसमेत छाडेका छन्। अनुगमन टोलीका एक सदस्य आफैंले चार सय ५० रूपैयाँमा मास्क किनेका थिए। मास्क किनेको बिलसहित अनुगमन टोलीले ती पसलमा छापा मारेको थियो।नागरिक दैनिकबाट

प्रतिकृया दिनुहोस्