RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७६/११/२३ गते
७३७ पटक

जुम्लाका सिञ्जा गाउँपालिकामा पनि आगामी शैक्षिक सत्रदेखि खस भाषामा पठनपान हुने भएको छ । यस अघि जिल्लाको तातोपानी गाउँपालिकाले खस भाषामा पठनपाठन गराउँदै आएको थियो ।

तातोपानी गाउँपालिकाले यहाँका २५ विद्यालयमा स्थानीय खस(जुम्ली) भाषामा पाठ्यपुस्तक निर्माण गरी चालु शैक्षिक वर्षदेखि पठनपाठन गराउँदै आएकाे थियो । लोपोन्मुख खस भाषालाई जोगाउनका लागि पाठ्यपुस्तक तयार गरी विद्यालयमा पढाउने व्यवस्था गराएको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाका २८ मध्ये २५ विद्यालयमा १ देखि ३ कक्षामा शैक्षिक सत्र ०७५/०७६ मा अध्ययन अध्यापन सुरु गरिएको थियो । फागुनदेखि सुरु हुने नयाँ शैक्षिक सत्र ०७६/०७७ मा ४ र ५ कक्षामा पनि पठनपाठन सुरु गरेको तातोपानी गाउँपालिका शिक्षा शाखाका प्रमुख छायादत्त चौलागाईले बताए । यस शैक्षिक सत्रमा कक्षा १ देखि ५ सम्मका ३ हजार ८ सय ५१ विद्यार्थीले खस भाषाको पाठ्यपुस्तक अध्ययन गरेका छन् ।

स्थानीय खस भाषामा आधारित पाठ्यपुस्तकको अध्ययन हुने भएपछि पुरानो संस्कार र संस्कृतिको संरक्षण हुने अपेक्षा गरिएको तातोपानी गाउँपालिका अध्यक्ष नवराज न्यौपानेले बताए । कक्षा १ को स्थानीय पाठ्यपुस्तकमा प्राकृतिक स्थल, मठमन्दिर, पर्यटकीय स्थल, ऐतिहासिक धाम तथा दरबारजस्ता विषय समेटिएको शिक्षा शाखा प्रमुख चौलागाईले बताए ।

त्यसैगरी २ र ३ कक्षाको पाठ्यपुस्तकमा समेटिएका प्राकृतिक, धार्मिक, ऐतिहासिक सम्पदा, कृषिजन्य बाली, पर्यटक, धार्मिक सम्पदा र रैथाने बालीको परिचय तथा महत्वलाई खस भाषाबाट झल्काइएको छ ।

तातोपानी ५ श्रीनगरस्थित कालिका आधारभुत विद्यालयका प्रधानाध्यापक छायादत्त खत्रीले खस भाषामा स्थानीय पर्यटकीय तथा धार्मिक सम्पदाहरु बुझ्न पाउँदा थप र सहज तरिकाले ज्ञान हासिल गर्ने मौका मिलेको बताए ।
त्यसैगरी सिञ्जाले २२ विद्यालयमा कक्षा १-३ सम्म नयाँ शैक्षिक सत्र ०७६/०७७ को आगामी १ वैशाखाट सुरु गर्ने तयारी गरेको २ नम्बर वडाध्यक्ष नविन शर्माले बताए । बुधबार काठमाडौँमा शताव्दी पुरुष सत्यमोहन जोशीको उपस्थितिमा खस भाषा पाठ्यक्रमको विषयमा अन्तरक्रिया गरेको उनले बताए ।

सिञ्जाले निर्माण गरेको ‘खस भाषा र संस्कृति’ पाठ्यक्रम तथा पाठ्यपुस्तकलाई अन्तिम रुप दिन बुधबार काठमाडौंमा आयोजित अन्तरक्रियामा जोशीले त्यस्तो बताएका हुन् ।

गाउँपालिका गाउँपालिका अध्यक्ष देवलसिंह रावलले भने यो वर्ष कक्षा ३ सम्म र अर्को वर्ष कक्षा ८ सम्म पठनपाठनको व्यवस्था गर्ने लक्ष्य राखेको बताए ।नयाँ पत्रिकाबाट ……..

प्रतिकृया दिनुहोस्