RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७६/११/२३ गते
७४१ पटक

काठमाडौं । कोरोना भाइरस संक्रमणको प्रभावका कारण भारतले पारासिटामोलसहित २६ प्रकारका औषधि र कच्चा पदार्थ निर्यातमा रोक लगाएको छ । अब बजारमा औषधि अभाव खड्किने चिन्ता उपभोक्तामा बढेको छ । तर, औषधि व्यवस्था विभाग भने औषधि अभाव नखड्किनेमा विश्वस्त देखिएको छ । नेपाली बजारमा पर्याप्त मात्रामा औषधि रहेको भन्दै अभाव नखड्किने विभागले जनाएको छ ।

औषधि व्यवस्था विभागका वरिष्ठ औषधि व्यवस्थापक सन्तोष केसीले औषधि आयातकर्ता र औषधि उत्पादक संघलाई औषधिको विवरण जानकारी गराउन आग्रह गरिएको बताए । उनले भने, ‘तीन महिनासम्म अभाव खड्किँदैन भनेर जानकारी आइसकेको छ । केहीले औषधिको मौज्दात विवरण जानकारी गराउनुभएको छ ।’

औषधि आयातकर्ता संघ र नेपाल औषधि उत्पादक संघले कुनै पनि औषधि अभाव नखड्किने जनाएका छन् । औषधि उत्पादक संघका उपाध्यक्ष सन्तोष बरालका अनुसार चालू आवमा कुनै पनि औषधि अभाव हुँदैन ।

उनले भने, ‘यो आर्थिक वर्षमा कुनै पनि औषधिको अभाव खड्किँदैन र औषधिको मूल्य पनि बढाउँदैनौं ।’ औषधि आयातकर्ता संघका महासचिव पवन आचार्यका अनुसार तीन–चार महिना पुग्ने गरी औषधि मौज्दात राखिएको छ । उनले भने, ‘कुनै पनि औषधि व्यवसायीले अप्राकृतिक रूपमा औषधि स्टकमा नराखौं । चीनले पनि औषधिका लागि आवश्यक कच्चा पदार्थ उत्पादन गर्न थालिसकेको छ ।’

यस्तै, औषधि व्यवस्था विभागले आइतबारसम्म औषधि आयातकर्तालाई गोदाममा भएको औषधिको विवरण पेस गर्न आग्रह गरेको छ । कोरोना भाइरस संक्रमणले मुलुक संकटमा फस्न सक्ने र त्यस समयमा हुने अभावको सामना गर्न यस्तो निर्णय लिनुपरेको भारतीय वाणिज्य एवं उद्योग मन्त्रालयका विदेश व्यापार महानिर्देशनालयलाई उद्धृत गर्दै भारतीय सञ्चार माध्यमले लेखेका छन् । सरकारले तोकेको २६ प्रकारका औषधि निर्यात गर्नुपूर्व सरकारसँग अनुमति लिनुपर्नेछ ।राजधानी दैनिकबाट

प्रतिकृया दिनुहोस्