RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७८/९/९ गते
४०८ पटक

कृषि तथा पशुपंक्षी विकास मन्त्री महिन्द्रराय यादवले रासयनिक मलको विकल्प प्रांगरिक मल भएको बताएका छन् ।
नेपाल पाराभेटेरिनरी एण्ड लाइभस्टक एशोसिएशनको १० औं राष्ट्रिय महाधिवेशन उद्घाटन गर्दै मन्त्री यादवले रासायनिक मलको अभाव हटाउन जिटूजीबाट सकिने भएपनि अहिलेको विकल्प प्रांगरिक मल नै भएको बताए ।

“मलखादको अर्को विकल्प भनेको अहिले प्रांगरिक मल नै हो” उनले भने, “सरकरले प्रदेश र स्थानीय तहमै मल उत्पादन गरेर बिक्री गर्ने कार्यविधि बनाउँदै छौं ।”

उनले धेरै देशलाई जिटूजी माध्यमबाट मल दिन पत्राचार गरिएपनि कुनै देश त्यसका लागि तयार नरहेकाले रासायनिक मलको विकल्प खोज्नुपर्ने भएको बताए । “मलको समस्या समाधान गर्न सरकारले तेलकोजस्तै जिटूजी नै गर्नुपर्छ” उनले भने, “सबै देशलाई जिटूजीबाट दिन प्रचार गरिएको छ । कुनै देशले त्यसरी दिने अवस्था छैन ।
मलखाद कारखाना लगाउन निजी र सरकारी क्षेत्रमा कुरा भइरहेको छ ।”

मन्त्री यादवले मलखाद लगायतका कृषिसम्बन्धी समस्याको दीर्घकालीन समाधान गर्न चकलाबन्दी आवश्यक रहेको बताए । उनले अन्तर्राष्ट्रिय बजारमा पनि मलखादको अभाव रहेकाले किसानको मागअनुसारको आपूर्ति गर्न नसकेको बताए ।

“अन्तर्राष्ट्रिय बजारमा पनि मलखादको अभाव छ” उनले भने, “नेपालमा मलखादको अभाव भएपनि अहिले हिउँद सिजनको लागि हामीले डिएपी र मलखाद हामीले केही आपूर्ति गरेका छौँ । तर पनि किसानको मागअनुसारको पूर्ति भइरहेको छैन ।”

पछिल्लो समय नेपालमा पशुसेवा र कृषिमा आकर्षण बढिरहेको भन्दै मन्त्री यादवले कृषिलाई आत्मनिर्भर बनाउनु पर्ने बताए । उनले कृषिलाई आत्मनिर्भर बनाउन सरकारले २० वर्षे नीति लिएको र सरकारको तीन खम्बा निजी, सहकारी र सरकारी क्षेत्रलाई व्यवस्थित बनाएर अघि बढे सफल हुने दावी गरे ।

उनले नेपालीहरुले आफ्नो देशमा उत्पादन भएका चिजसमेत पर्याप्त नपाइरहेकोले उत्पादन वृद्धि गरी कृषि क्षेत्रलाई माथि उठाउन आवश्यक रहेको बताए । देश अहिले आयातमुखि बनेकाले देश विकासका लागि आयात नभइ निर्यात गरेर अघि बढ्नुपर्ने मन्त्री यादवको भनाइ छ ।

मन्त्री यादवले पशु चिकित्सकले सरकारबाट पाउनुपर्ने कानूनी सुविधा उपलब्ध गराउन मन्त्रालयले पहल गर्ने पनि बताए । उनले कृषिको बजेट पर्याप्त नभएकाले त्यसलाई वृद्धि गरेर अघि बढेमात्र कृषि क्षेत्रलाई आत्मनिर्भर बनाउन सकिने बताए ।
मन्त्री यादवले नेपालमै कृषिसम्बन्धी औषधिहरु उत्पादन गर्नका लागि प्रविधिक जनशक्ति खटाउने सोचमा सरकार रहेको र कृषि क्षेत्रलाई उकास्न सरकार तयार रहेको बताए ।

www.karobardaily.com

प्रतिकृया दिनुहोस्