अझै पनि नेपालमा ५०.५ प्रतिशत घरेलु मदिराको कारोबार हुने गरेको अवस्थामा पनि विदेशबाट वार्षिक करिब ५ अर्बको मदिरा भित्रिने गरेको पोखरामा आयोजित एक कार्यक्रमका वक्ताहरुले बताएका छन् ।
उपभोक्ता हित संरक्षण मञ्च गण्डकी प्रदेशले पोखरामा आयोजना गरेको कार्यक्रममा सहभागीले नेपालमा अझै पनि वार्षिक ५ अर्ब भन्दा बढी मूल्य बराबरको मदिरा भित्रिने गरेको बताएका हुन् ।
मदिराले आमजनतालाई धेरै असर पारेकाले त्यसको निश्चित समय र स्थानमा मात्र कारोबार गर्न उनीहरुले माग पनि गरेका छन् ।
मदिराको नियमन खासै नभएको, केही कानून संशोधन गर्नुपर्ने, मदिराको जथभावी प्रयोगले गर्दा घरदेखि समाजसम्म विकृति फैलिएको, सवारी दुर्घटना बढेकोलगायतका कारण यसको कारोबार व्यवस्थित पार्नुपर्नेमा उनीहरुले जोड दिए ।
सांसद एवं नेकपा एमालेकी नेतृ विद्या भट्टराईले मदिराले जनमानसमा धेरै असर पारेकाले यसको तल्लो तहबाटै राम्रो अनुगमन तथा नियमन हुनुपर्ने बताइन् ।
कास्कीका सहायक प्रमुख जिल्लाअधिकारी अनिलकुमार शाहीले तीनै तहको सरकार हुदाँ हाल समन्वयको अभावले केही समस्या भएपनि आफूलाई जानकारी भएसम्म बजार अनुगमन र निमयन गर्ने दाबी गरे । पोखरा महानगरपालिकाका प्रवक्ता धनबहादुर नेपालीले मदिराको व्यवस्थापन गर्न नियमित रुपमा नियमन हुनुपर्ने बताए ।
मदिरा व्यवसायी महासंघका महासचिव तारा ढुंगनाले ५ लाख जना मदिरा व्यवसायसँग आवद्ध भई प्रत्यक्ष रोजगार प्राप्त भएको तथा करिब २४ प्रतिशत राजस्वमा मदिराले सहयोग पु¥याएको जनाए ।
www.karobardaily.com