RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७८/९/१५ गते
६९३ पटक

काठमाडौं । मुलुकभर मौसम बदली भई देशका अधिकांश ठाउँमा पानी परेको छ । हिमाली र उच्च पहाडी क्षेत्रमा हिउँ परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मौसमविद्ले मंगलबार नै पानी पर्ने र काठमाडौं उपत्यका आसपासमै हिउँ पर्न सक्ने पूर्वानुमान गरेका थिए ।

काठमाडौं उपत्यकामा रातिदेखि नै हिमपातसहित पानी परेको छ । काठमाडौं उपत्यकामा पानी परेको छ भने उपत्यका आसपासका डाँडाहरूमा हिमपात भएको छ । काठमाडौंको आसपासका डाँडाहरूमा बिहानैदेखि बाक्लै हिमपात भएको छ । उपत्यकाका डाँडाहरूमा यो वर्षको पहिलोपटक हिमपात भएको हो । मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबारसम्मै मौसममा आंशिकदेखि सामान्य बदली आई हिमपात र पानी पर्ने सम्भावना छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार मंगलबार रातिदेखि हल्कादेखि मध्यम वर्षा भएको छ । देशभर नै पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहेकाले हल्कादेखि मध्यम वर्षा भएको महाशाखाले जानकारी दिएको छ ।

मौसमविद् गंगा नगरकोटीका अनुसार काठमाडौंसहित देशभर वर्षा भइरहेको छ । बिहीबार बिहानसम्म वर्षा हुने सम्भावना रहेको उनले बताए । काठमाडौंमा दिउँसो केहीबेर रोकिएर फेरि वर्षा हुने सम्भावना छ । पानी पर्न रोकिएर बादल हटेपछि तापक्रम यो वर्षकै न्यून हुन सक्ने उनले बताए ।

देशका उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानमा हल्कादेखि मध्यम हिमपातको पनि सम्भावना रहेको विभागको भनाइ छ । काठमाडौंको चन्द्रागिरिमा हिमपात भएको छ । अहिले सक्रिय रहेको मौसमी प्रणालीका कारण पर्वतारोहण, हवाई–यातायातलगायत दैनिक जनजीवनमा समेत असर पर्न सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । चिसोबाट बच्न र हिमपातबाट हुन सक्ने प्रभावबाट जोगिन आवश्यक सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन् ।

प्रतिकृया दिनुहोस्