RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७८/९/१५ गते
३१४ पटक

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले आर्थिक र सामाजिक रूपमा समृद्ध मुलुक निर्माण गर्न गुरुङ समुदायले निर्वाह गर्दै आएको भूमिका प्रशंसनीय भएको बताएकी छन्। बिहीबार गुरुङ समुदायको महान् चाड तमु ल्होसारका अवसरमा शुभकामना दिँदै उनले मुलुकको मौलिक सांस्कृतिक सम्पदाको संरक्षण तथा संवर्द्धन गर्दै पर्यटन प्रवर्द्धनमार्फत् समृद्ध मुलुक निर्माण गर्न गुरुङ समुदायको भूमिका प्रशंसनीय भएको बताएकी हुन्।

‘तमु ल्होसारले गुरुङ समुदायको नयाँ संवत् सुरू भएको संकेत गर्दछ। यस समुदायले आज पुरानो वर्षलाई विदाई र नयाँ वर्षलाई स्वागत गर्दै यो पर्व मनाउने प्रचलन रहेको छ। गुरुङ समुदायको बाहुल्यता रहेका लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, कास्की र पर्वत लगायतका जिल्लाहरूमा यो पर्व अपार उमङ्गका साथ मनाउने गरिन्छ।’ भण्डारीद्वारा जारी शुभकामना सन्देशमा भनिएको छ, ‘मुलुकको मौलिक सांस्कृतिक सम्पदाको संरक्षण तथा संवर्द्धन गर्दै पर्यटन प्रवर्द्धनमार्फत् आर्थिक र सामाजिक रूपमा समृद्ध मुलुक निर्माण गर्न समेत गुरुङ समुदायले निर्वाह गर्दै आएको भूमिका प्रशंसनीय छ।’

नेपाली समाज बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विविधताले भरिएको इन्द्रेणी जस्तै सुन्दर र सौम्य रहेको शुभकामना सन्देशमा उल्लेख छ। उनले तमु ल्होसार जस्ता पर्वहरूबाट सबै नेपाली बीच आपसी सद्‌भाव, सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि हुनका साथै यसबाट बृहत् राष्ट्रिय एकतालाई थप सुदृढ गर्न मद्दत पुग्नेछ भन्ने विश्वास व्यक्त गरिन्।

राष्ट्रपति भण्डारीले गुरुङ समुदायको पर्वले सम्पूर्ण नेपालीमा नयाँ उत्साह तथा उमङ्ग छर्दै सभ्य‚सुसंस्कृत र प्रगतिशील समाज निर्माणमा अग्रसर हुन प्रेरणा प्रदान गरोस् भन्ने कामना गरेकी छन्।

प्रतिकृया दिनुहोस्