
काठमाडौं : बुधबार ११ समूहले निष्कर्ष सुनाएपनि १४ समूहको बाँकी रहेकाले उनीहरुले निष्कर्ष सुनाएपछि बन्दसत्रमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जवाफ दिने कार्यसूची रहेको माओवादी केन्द्रले जनाएको छ।
प्रज्ञा भवनमा सोमबार आठौं राष्ट्रिय महाधिवेशनको बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘२१ औं शताब्दीको समाजवादको नेपाली बाटो’शीर्षकको वैचारिक तथा राजनीतिक दस्तावेज, पार्टी स्थायी कमिटी सदस्य देवप्रसाद गुरुङले पार्टीको विधान मस्यौदाको प्रस्तावमाथि छलफलका लागि २५ वटा समूह बनाइएको थियो।
समूह टोली नेताले समग्रमा अध्यक्षको दस्तावेज सही भए पनि केन्द्रीय सदस्यका छोराछोरीलाई सरकारी विद्यालयमा पढाउन अनिवार्य गर्नुपर्ने बताएका छन्। उनीहरुले वर्ग र नेपाली समाजबारे दस्तावेजमा विशेष रूपमा व्याख्या गर्न सुझाव दिएका छन्।
ज्यानको बाजी थापेर युद्धमा होमिएका युवाहरूलाई स्वदेशमै राख्न नसक्नु माओवादीको अर्को गल्ती भएको उनीहरुको भनाइ छ। शासकीय स्वरूपको सन्दर्भमा पूर्ण समानुपातिक समावेशी संसद् र प्रत्यक्ष कार्यकारी राष्ट्रपतिलाई जोडतोडले माग गरिएको छ।