RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/९/२१ गते
५४० पटक

काठमाडौँ, पुस २० गते । देशभर ३० हजार सहकारी संस्था सञ्चालनमा रहेको पाइएको छ । सहकारी विभागले चार महिना लगाएर गरेको अध्ययनअनुसार देशभर २९ हजार ८८६ सहकारी संस्था सञ्चालनमा रहेको पाइएको हो ।  विभागले स्थानीय सरकारसँगको सहकार्यमा गत साउनदेखि कात्तिकसम्म सहकारीको तथ्याङ्क सङ्कलन गरेको थियो । हाल सञ्चालित सहकारीमध्ये सङ्घीय सरकारअन्तर्गत १२५, प्रदेश सरकारअन्तर्गत ६ हजार दुई र स्थानीय सरकारअन्तर्गत सबैभन्दा धेरै २३ हजार ७५९ सहकारी संस्था रहेका विभागका रजिष्ट्रार डा टोकराज पाण्डेले जानकारी दिनुभयो ।

उहाँका अनुसार विभागले सङ्कलन गरेको तथ्याङ्कमध्ये हाल देशभर २९ हजार ८८६ प्रारम्भिक सहकारी संस्था, २० विषयगत केन्द्रीय सङ्घ, एक राष्ट्रिय सहकारी बैंक, एक राष्ट्रिय सहकारी महासङ्घ, ७० जिल्ला सहकारी सङ्घ र २४१ विषयगत जिल्ला सहकारी सङ्घ क्रियाशील छन् । उक्त सहकारी संस्थाले करीब ८८ हजार ३०९ जनालाई प्रत्यक्ष रोजगारी दिएको, ७३ लाख सात हजार ४६२ जना आबद्ध भएको र रु ९४ अर्ब १० करोड ५० लाख शेयर पूँजी रहेको पाइएको छ ।

सङ्घीयता कार्यान्वयनमा आएसँगै तीन तहमा अधिकार बाँडफाँड हुँदा सहकारी क्षेत्र नियमन गर्ने, सहजीकरण गर्ने तथा अन्य आवश्यक प्रबन्ध गर्ने अधिकारहरु तीनै तहका सरकारलाई हस्तान्तरण गरिएको छ । उहाँका अनुसार तीनै तहमा हस्तान्तरण गरेपछि पहिलोपटक विभागले देशभर सञ्चालनमा रहेका सहकारी संस्थाको तथ्याङ्क सङ्कलन गरिएको हो ।

कुन प्रदेशमा कति

विभागले सङ्कलन गरेको तथ्याङ्कअनुसार प्रदेश नं १ मा चार हजार ७३७ वटा सहकारी संस्था छन् । उक्त सहकारीमा नौ लाख ३५ हजार ७०० सदस्य रहेको, रु आठ अर्ब २० करोड दुई लाख ८७ हजार ३७२ शेयर सदस्य रहेको र २० हजार ६८५ जनाले प्रत्यक्ष रोजगारीे पाइएको छ ।

यसैगरी प्रदेश नं २ मा चार हजार १५३ सहकारी संस्था रहेको पाइएको छ । जसमा पाँच लाख ५५ हजार सदस्य, रु दुई अर्ब ३६ करोड शेयर पूँजी र १० हजार ८०० भन्दा बढी प्रत्यक्ष रोजगारी पाएका छन् । वाग्मती प्रदेशमा १० हजार ४१८ सहकारी संस्था सञ्चालनमा रहेको पाइएको छ । उक्त सहकारीमा २७ लाख १७ हजारभन्दा बढी सदस्य, रु ५१ अर्ब ४० करोड बराबरको शेयर पूँजी र ३३ हजार ८०० भन्दा बढी प्रत्यक्ष रोजगारी पाएको तथ्याङ्कमा उल्लेख गरिएको छ ।

गण्डकी प्रदेशमा दुई हजार ६७१ सहकारी संस्था सञ्चालनमा रहेको छ भने ११ लाख १६ हजारभन्दा बढी सदस्य रहेको पाइएको छ । ती सहकारीमा रु ८६ अर्ब सात करोड शेयर लगानी र सात लाखभन्दा बढीले रोजगारी पाएको तथ्याँङ्क छ । यसैगरी लुम्बिनी प्रदेशमा तीन हजार ७५५ सहकारी संस्था सञ्चालनमा छन् भने त्यसमा आठ लाख ९८ हजार सदस्य छन् । ती सहकारीमा रु पाँच अर्ब ८२ करोड शेयर लगानी र सात हजारभन्दा बढी रोजगारी पाएका छन् ।

विभागको तथ्याङ्कअनुसार कर्णाली प्रदेशमा एक हजार ९६७ सहकारी संस्था रहेका छन् । चार लाख चार हजार सदस्य रहेको ती सहकारीमा एक अर्ब ८० करोड शेयर पूँजी र चार हजार ५०० भन्दा बढी प्रत्यक्ष रोजगारीमा आबद्ध छन् । सुदूरपश्चिम प्रदेशमा रहेका दुई हजार ६० सहकारीमा पाँच लाख ४२ हजार सदस्य छन् । रु दुई अर्ब एक करोड शेयर पूँजी रहेको ती सहकारीमा दुई हजार ८०० भन्दा बढीले रोजगारी पाएका छन् ।

यसअघि देशभर ३४ हजार ८३७ सहकारी संस्था रहेकामा केही निष्क्रिय भएको र केही एकीकरण हुँदा तथ्याङ्कमा कमी आएको पाइएको छ । विभागले शून्य लागतमा ७५३ स्थानीय तहले दिएको तथ्याङ्कका आधारमा विभागले सो विवरण तयार पारेको बताइएको छ ।  विभागले तयार पारेको तथ्याङ्कअनुसार सहकारीमा सदस्य सङ्ख्या, शेयर पूँजी, बचत सङ्कलन, ऋण लगानी तथा रोजगारी सिर्जनालगायत सूचकमा वृद्धि भएको पाइएको विभागका रजिष्ट्रार डा पाण्डेले जानकारी दिनुभयो

गोरखापत्र दैनिकबाट……………………..

प्रतिकृया दिनुहोस्