RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/९/२४ गते
९०७ पटक

मुगु, हुम्ला — लगातार हिमपात भएपछि हुम्लाको नाम्खा गाउँपालिकाको लिमीमा सामुदायिक विद्यालय बन्द भएका छन् भने मुगुमा आउजाउ नै रोकिएको छ । भारी हिमपातका कारण मुगुको गमगढी हुँदै हुम्लाको दार्म जोड्ने सडक निर्माणको काम अवरुद्ध भएको छ । मुगुको चंखेलीदेखि हुम्लाको दार्मखोलासम्म बाक्लो हिउँ जमेपछि सडक निर्माणको काम रोकिएको हो ।

हिमपातले डोजर चल्न र मजदुरलाई काम गर्न समस्या भएपछि एक महिनाका लागि सडक निर्माणको काम रोकिएको ग्रामीण पहुँच कार्यक्रमले जनाएको छ । हिउँ पग्लिएपछि मात्र सडक निर्माण सुरु हुने कार्यक्रमका व्यवस्थापक विष्णुराम विष्टले बताए । उनका अनुसार चंखेलीदेखि दार्मखोलासम्म करिब एक फिट हिउँ जमेको छ ।

सन् २०१८ देखि कार्यक्रमले हुम्लाको दार्मसम्म ६७ किलोमिटर सडक निर्माण गरिरहेको छ । त्यसमध्ये गमगढीदेखि चंखेलीसम्मको २६ किमि सडक प्रदेश सरकारलाई हस्तान्तरण भइसकेको छ । चंखेलीदेखि देउलीसम्मको ४१ किलोमिटर सडक निर्माणको काम पनि अन्तिम चरणमा पुगेको उनले बताए । बाक्लो हिउँ जमेपछि स्थानीयलाई खाद्यान्न र दैनिक उपभोग्य सामग्री ढुवानी गर्नसमेत समस्या भएको छ ।

कोरोना महामारीका बेलामा पनि सञ्चालन भएका हुम्लाका विद्यालय आइतबारदेखि बन्द भएका छन् । लिमीमा आइतबारबाट हिमपात जारी छ । विद्यालय परिसरमा समेत झन्डै चार फिट हिउँ जमेपछि पठनपाठन सञ्चालन गर्न समस्या भएको हो । हिउँले गाउँ र विद्यालय आउजाउ गर्ने बाटो बन्द भएपछि पठनपाठन अवरुद्ध भएको सुनखानी प्राथमिक विद्यालयका शिक्षक टसिफुन्जोक तामाङले बताए ।

‘विद्यार्थी घरबाट बाहिर निस्कन सक्ने अवस्था छैन,’ उनले टेलिफोनमा भने, ‘हिउँ नबिलाएसम्म विद्यालय सञ्चालन गर्न सकिन्न ।’ उनका अनुसार हिमपातपछि हिमशिखर प्रावि, भृकुटी प्रावि र सुनखानी प्रावि बन्द गरिएको हो । सुनखानी प्राविमा ५६ विद्यार्थी अध्ययनरत छन् । हिउँ बिलाएर चिसो घटेपछि गुम्बाको ठूलो हलमा आगो बालेर पठनपाठन गरिने उनले बताए । नाम्खा गाउँपालिकामा १६ सामुदायिक विद्यालय छन् ।

गत मंसिर पहिलो साता महाबौद्ध मावि, यलबाङमा एकैपटक ३२ विद्यार्थीमा कोरोना देखिएपछि अरू विद्यालय बन्द गरिए पनि लिमीका ३ विद्यालयमा पठनपाठन रोकिएको थिएन । हुम्लाका सातवटै गाउँपालिकामा हिमपात भएको छ ।

हिमपात भएपछि एसईईको तयारीमा समस्या भएको सिमकोटका विद्यार्थी धनबहादुर लामाले बताए । उनका अनुसार आइतबारदेखि सदरमुकामका सबै ट्युसन सेन्टर बन्द भएका छन् । ‘चिसोले हात कठ्यांग्रिएर लेख्नै समस्या छ,’ उनले भने, ‘चैतदेखि कोरोनाले विद्यालय जान पाइएन, अहिले हिउँले ।’

कान्तिपुर दैनिकबाट…………

प्रतिकृया दिनुहोस्