RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/९/२५ गते
६८५ पटक

जुम्ला हुँदै डोल्पा जोड्ने बहुवर्षिय सडकको स्तरोन्नती हुने भएको छ । जुम्लाको पूर्वमा पर्ने दानसाँघु पक्की पुल हुँदै डोल्पा जोड्ने सडकको स्तरोन्नती हुने भएको हो । बहुवर्षिय ठेक्काका आधारमा सडक सुधारको कार्यलाई अघि बढाइने तयारी छ ।

कर्णाली प्रदेश भौतिक पूर्वाधार मन्त्रालयबाट ३३ करोड ४० लाख मात्रै बजेट स्वीकृत भएको छ । बहुवर्षिय योजनाका लागि ३३ करोड बजेट कनिका छर्नु जतिकै हो । ३३ करोडले जुम्ला हुँदै डोल्पा जोड्ने ४४ किलोमिटर मध्य १० किलोमिटर सडकको मात्रै स्तरोन्नती हुने पूर्वाधार कार्यालय जुम्लाका प्रमुख रुपबहादुर रावलले बताए ।

उनले भने, “हेर्दा बजेट ३३ करोड ४० लाख देखिएपनि बहुवर्षिय योजनामा यो बजेट नगन्य अर्थात थोरै बजेट हो । बजेट अनुसार कार्यअवधि २ वर्ष हुनुपथ्र्यो । तर पञ्चवर्षिय योजनामा ३३ करोड भनेको धेरै कम हो, यसले विकास निर्माण मात्रै प्रभावित हुन्छ ।”

जुम्ला, दानसाँघु, चोत्रा काइगाउँ हुँदै डोल्पा जोड्ने बहुवर्षिय सडकको १० किलोमिटर सडक पाँच वर्षमा स्तरोन्नती हुने छ । एकै वर्षमा ५-६ करोड बजेट खर्च गरेपनि पाँच वर्षसम्म ३३ करोड बजेट नपुग्ने रावलको भनाइ छ । सो बजेटबाट पाँच वर्षमा १० किलोमिटर सडक ग्राभेल, ग्राभेल नटिक्ने ४–५ सय मिटर सडकमा ढलान र नाला निर्माण गरिने भएको छ ।

“काम गर्नुपर्ने धेरै, बजेट थोरै हुने भएकै कारण बहुवर्षिय योजना प्रभावित हुने गर्छ ।” रावलले भने । जुम्ला डोल्पा जोड्ने सडकको १० किलोमिटर सडक पाँच वर्षमा ग्राभेल भएपनि बाँकी सडक खण्ड कहिले निर्माण हुने टुंगो छैन । बहुवर्षिय योजनामा बजेटनै नजुट््ने र जुटेपनि पर्याप्त नहुने समस्याकै कारण जुम्लाका दर्जनौ बहुवर्षिय योजना अलपत्र छन् ।

बहुवर्षिय योजनामा पर्याप्त बजेट नभएकै कारण कर्णालीको पूर्वाधार विकासले गति लिन नसकेको पूर्वाधार कार्यालयका प्रमुख रावलले बताए । बजेट अभावनै कर्णालीको पूर्वाधार विकासमा मुख्य चुनौती भएको उनको भनाइ छ । उनले जुम्ला डोल्पा सडक स्तरोनतीका लागि स्वीकृत भएको ३३ करोड ४० लाख बजेटले लक्ष्य अनुसार काम हुन नसक्ने चिन्ता व्यक्त गरे । अघिल्लो वर्ष सो सडक सुधारका लागि ९९ करोडको स्टमेट पठाउँदा मन्त्रालयबाट स्वीकृत हुन् नसकेको उनको भनाइ छ ।

कारोबार दैनिकबाट……….

प्रतिकृया दिनुहोस्