RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/९/२६ गते
५४४ पटक

सुर्खेत-कर्णाली प्रदेश सरकारले २०७८ वैशाखमा कर्णाली लगानी सम्मेलन गर्ने भएको छ । कर्णालीमा लगानीकर्ता आकर्षित गर्न कर्णाली प्रदेश योजना आयोगले लगानी सम्मेलन आयोजना गर्न लागेको हो ।

प्रदेश योजना आयोगको ७८औं बैठकले कर्णालीमा लगानी सम्मेलन आयोजना गर्ने निर्णय निर्णय गरेको कर्णाली प्रदेश योजना आयोगका उपाध्यक्ष डाक्टर सर्वराज खड्काले जानकारी दिए ।

कर्णालीमा लगानी मैत्रीवातावरण सिर्जना गर्न र विकास साझेदार संस्था आकर्षण बढाउन प्रदेशस्तरीय लगानी सम्मेलन आयोजना गरिने उपाध्यक्ष खड्काले बताए । आयोगले हाल परियोजना बैंकको काम गरिरहेको र उक्त कार्य सकिएपछि लगानी सम्मेलन आयोजना गर्नेगरी योजना आयोगले तयारी सुरु गरेको खड्काको भनाइ छ ।

कर्णालीमा लगानी कर्ता आकर्षित गरी समृद्ध बनाउनका लागि सम्मेलन आयोजना गरिने उपाध्यक्ष खड्काले बताए । गतआर्थिक वर्षदेखि नै प्रदेश सरकारले लगानी सम्मेलन गर्ने योजना बनाएको भए पनि आयोजना गर्न सकेको थिएन ।

विकासका हिसाबले पछाडि परेको कर्णालीलाई लगानीका लागि ‘भर्जिन ल्याण्ड’ का रूपमा परिभाषित गर्ने गरिएको छ । प्रदेश सरकारका मन्त्रीहरूले विभिन्न कार्यक्रममा कर्णालीमा लगानी गर्नेलाई प्रदेश सरकारले कर छुट दिने बताउँदै आएका छन् । लगानीकर्ता के के कुराले आकर्षित हुन्छन् भन्ने कुरामा गृहकार्य गरेर प्रदेश सरकारले आकर्षण दिने उपाध्यक्ष खड्काको भनाइ छ ।

यसअघि नेपाल सरकारले वि.सं २०७६ मा आयोजना गरेको नेपाल पूर्वाधार सम्मेलनमा कर्णालीबाट ६७ वटा आयोजना समावेश गरिएको ती र नयाँ परियोजना लगानी सम्मेलनमा समावेश गरिने खड्काले बताए । प्रदेशस्तरीय लगानी सम्मेलनका लागि संयोजन गर्न प्रदेश योजना आयोगका सदस्य योगेन्द्रबहादुर शाहीलाई जिम्मेवारी दिएको छ ।

कारोबार दैनिकबाट………….

प्रतिकृया दिनुहोस्