RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/९/२७ गते
५१८ पटक

सरकारले स्थानीय तहको पुँजीगत खर्च बढाउन आग्रह गरेको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विशेष प्राथमिकता दिएर स्थानीय तहमा पुँजीगत खर्च बढाउने वातावरण तयार पार्न आग्रह गरेका हुन् । नेपाल नगरपालिका संघ र गाउँपालिका राष्ट्रिय महासंघका नेतृत्वसँगको गत शुक्रबार भएको बैठकमा अर्थमन्त्री पौडेलले स्थानीय तहको पुँजीगत खर्च बढाउन आग्रह गरेका हुन् ।
अर्थ मन्त्रालयमा आयोजित बैठकमा अर्थमन्त्री पौडेलले नेपाल नगरपालिका संघका अध्यक्ष अशोककुमार व्याञ्जु र गाउँपालिका राष्ट्रिय महासंघका अध्यक्ष होमनारायण श्रेष्ठलाई स्थानीय तहहरुमा पूँजीगत खर्च बढाउने गरी भूमिका निर्वाह अनुरोध गरेका हुन् ।

स्थानीय तहहरुमा वित्तीय हस्तान्तरण भएको मध्ये१ सय २६ अर्ब रुपैयाँ खर्च हुन सकेको छैन । अर्थमन्त्री पौडेलले खर्च हुन बाँकी रहेको रकम खर्चेर गाउँपालिका र नगरपालिकाहरुमा विकासको थप लहर सिर्जना गर्न आग्रह गरे ।

सो अवसरमा उनले पौडेलले कोभिड–१९ बाट अतिप्रभावित जोखिममा रहेका परिवारलाई सहयोग गर्न पनि अनुरोध गरे । स्थानीय तहका फोरमको नेतृत्वसँग अर्थमन्त्रीले प्रधानमन्त्री रोगजार कार्यक्रमलाई प्रभावकारी र उत्पादनमुलक बनाउने वातावरण सिर्जना गर्नुपर्ने बताए ।

भूमि सम्बन्धी समस्या समाधान गरिने

यस्तै सोही अवसरमा अर्थमन्त्री पौडेल, भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री डा. शिवमाया तुम्बाहाम्फे, श्रेष्ठ र व्याञ्जुसहितको बैठकमा भूमि सम्बन्धी समस्या समाधान आयोगको कामलाई प्रभावकारी रुपमा अगाडि बढाउने विषयमा पनि छलफल भएको थियो ।

आयोगले भूमि समस्या समाधानका लागि ४७ जिल्लाका १ सय ९३ वटा स्थानीय तहसँग सम्झौता गरेको छ । मन्त्री तुम्बाहाम्फेले बाँकी रहेका स्थानीय तहहरुमा पनि सम्झौता गर्ने र काम सुरु गर्ने जानकारी गराइन् ।

‘केन्द्र, प्रदेश र स्थानीय तहबीच समन्वय गरी भूमि सम्बधी समस्यालाई स्थायी रुपमा समाधान गरिन्छ,’ मन्त्री पौडेलले भने ।

काम स्थानीय तहमै हुने भएकाले स्थानीय तहको विशेष सकृयता चाहिने तुम्बाहाम्फेले बताइन् ।

नेपाल नगरपालिका संघका अध्यक्ष अशोककुमार व्याञ्जुले समयतालिका बनाएर काम गर्दा बढी प्रभावकारी हुने र गाउँपालिका राष्ट्रिय महासंघका अध्यक्ष होमनारायण श्रेष्ठले स्थानीय तहमा नै फोकलपर्सन(सम्पर्क व्यक्ति) राखेर काम गर्न जरुरी रहेको बताएका थिए ।

कारोबार दैनिकबाट……….

प्रतिकृया दिनुहोस्