RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/९/२९ गते
५५० पटक

झापा, पुस २० गते । माघे सङ्क्रान्तिलाई ध्यानमा राखी दक्षिण इलामको चुलाचुली किसानलाई अहिले तरुल बेच्न भ्याइ नभ्याइ छ । माघे सङ्क्रान्तिमा तरुलको माग अत्यधिक हुने भएकाले चुलाचुलीका किसान मौका छोपेर तरुल बेच्न तराईका बजारमा व्यस्त छन् ।

माघे सङ्क्रान्तिमा अनिवार्य कन्दमूल खाने भएकाले किसानले यसलाई तरुल बिक्री गर्ने उचित अवसरका रूपमा लिएका छन् ।
इलामको चुलाचुली गाउँपालिका–१ की विष्णु राईले घरबारीमा रोपेको सिमल तरुल केही मात्र बाँकी राखेर बजार पु¥याएको बताउनुभयो । उहाँले पछिल्लो केही वर्षदेखि तरुल बेचेर नै घरव्यवहार टार्दै आएको बताउनुभयो ।

उहाँ जस्तै सोही क्षेत्रका देउमान आङ्थुपोको पनि यो वर्ष सधैँभन्दा राम्रो उत्पादन भएको छ । यस वर्षको माघे सङ्क्रान्तिका लागि नै भनेर सिमल तरुल  १० कट्ठामा लगाउनुभएको छ । अघिल्लो वर्ष उहाँले यो खेतमा धान रोप्नुभएको थियो ।

केही सातादेखि अहिले घरघरमा व्यवसायीहरू सिमल तरुल खोज्दै आउने गरेको किसानको भनाइ छ । धेरै किसानको त बारीमै खरिद गर्न व्यापारी पुग्ने गरेको नैनाकला पौडेलले सुनाउनुभयो । चुलाचुली गाउँपालिकामा मात्र वार्षिक ५० देखि ६० मेट्रिक टन सिमल तरुल उत्पादन हुने गरेको गाउँपालिकाको कृषि शाखाले जनाएको छ ।

यो क्षेत्रमा ३५० देखि ४५० हेक्टर क्षेत्रफलमा सिमल तरुल खेती हुने गरेको छ । चुलाचुलीमा भएको उत्पादन बेच्ने मुख्य बजार झापाको दमक हो । त्यसबाहेक जिल्लाका अन्य बजारमा समेत पुग्ने गरेको छ । दमकमा रहेको तरकारी तथा फलफूल बजारमा बिक्री गर्ने गरिएको छ ।

यस वर्ष दमकको बजारमा मूल्यअनुसार सिमल तरुल प्रतिकिलो ४० देखि ५० रुपियाँसम्म रहेको छ । सुक्खा क्षेत्रमा कम मिहिनेत र थोरै लगानीमा नै धेरै नाफा दिने भएपछि खेती फस्टाउँदै गएको हो । समय फेरिँदै गएपछि चुलाचुलीवासीको खेतीसमेत फेरिँदै आएको छ । सिँचाइको अभाव छ ।

रामप्रसाद राईले अघिल्लो वर्ष सिमल तरुलबाटै डेढ लाख रुपियाँसम्म कमाउनुभएको थियो । यस वर्ष धान मासेर सिमल तरुल लगाएको उहाँले बताउनुभयो । त्यति मात्र नभई अघिल्लो वर्ष तीन कट्ठा क्षेत्रफलमा लगाएको सिमल तरुलले ३० हजार रुपियाँ आम्दानी दियो।
सोही स्थानका किसान नरबहादुर राईले डेढ बिगाहा क्षेत्रफलमा सिमल तरुल रोप्नुभएको छ ।

‘व्यापारीले मूल्य दिए भने हाम्रो सोचअनुसारको आम्दानी गर्न सक्छौँ । ‘सिमल तरुल रोप्न मिहिनेत मात्र हो बीचमा केही गर्नुपर्दैन । सिमलका डाँठ काटेर रोपे पुग्छ । त्यो डाँठ किन्नु पनि पर्दैन । गाउँमा त्यतिकै पाइन्छ ।

त्यसैले कम लगानी धेरै मुनाफा हुन्छ । ’ यहाँ उत्पादन भएको सिमल तरुल स्थानीय बजार र धरान, काठमाडौँसम्म जाने गरेको छ । माग बढ्दै गएकाले खेत मासेर सिमल तरुल गाउन थालिएको छ । अहिले नगदेवालीका रूपमा यसको व्यावसायिक खेती थालिएको छ ।

गोरखापत्र दैनिकबाट………………

प्रतिकृया दिनुहोस्