RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/१०/१ गते
८३० पटक

काठमाडौँ, माघ १ गते । कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणका कारण प्रभावित अर्थतन्त्रमा बिस्तारै सुधारको सङ्केत देखिन थालेको छ । अर्थतन्त्र चलायमान बनाउने औद्योगिक कच्चा पदार्थ, इन्धन, पुँजीगत वस्तुलगायतको आयात बढ्दै जाँदा सुधारोन्मुख अवस्था बन्दै गएको नेपाल राष्ट्र बैङ्कले जनाएको छ ।

केन्द्रीय बैङ्कले बुधबार सार्वजनिक गरेको चालू आर्थिक वर्ष २०७६÷७७ को पाँच महिनासम्मको आर्थिक तथा वित्तीय अवस्थासम्बन्धी प्रतिवेदनअनुसार औद्योगिक उत्पादनमा पछिल्लो समय भएको वृद्धि र उद्योग सञ्चालनमा आएको सुधारले आर्थिक क्रियाकलापले गति लिन थालेको देखिएको उल्लेख छ ।

बैङ्कले नै अर्थतन्त्रमा परेको प्रभाव सम्बन्धमा गरेको सर्वेक्षणले गत जेठ÷असारमा चार दशमलव एक मात्र उद्योग व्यवसाय पूर्ण सञ्चालनमा रहेकोमा कात्तिक÷मङ्सिरमा ५४ प्रतिशत पुगेको देखाएको थियो । त्यस्तै जेठ÷असारमा २९ प्रतिशत मात्र उत्पादन तथा कारोबार भएकोमा कात्तिक÷मङ्सिरमा ५० प्रतिशत पुगेको सर्वेक्षण प्रतिवेदनमा उल्लेख छ ।

राष्ट्र बैङ्कका अनुसार समीक्षा अवधिमा मूल्यवृद्धि नियन्त्रणमै छ । मङ्सिरमा उपभोक्ता मूल्यवृद्धि २.९३ प्रतिशत मात्र पुगेको छ । अघिल्लो मङ्सिरमा यस्तो वृद्धिदर ६.५५ प्रतिशत थियो । यद्यपि खाद्यवस्तुको मूल्यवृद्धि भने बढेकै देखिन्छ । प्रतिवेदनअनुसार फलफूल १४.७५, घिउ तथा तेल १३.०१, तरकारीको ११.४४ र दाल तथा गेडागुडी १०.७४ प्रतिशतले मूल्यवृद्धि भएको छ ।

गैरखाद्य तथा सेवा क्षेत्रको मूल्यवृद्धि कम हुँदा समग्र मूल्यवृद्धि दर कम देखिएको छ । समीक्षा महिनामा काठमाडौंँ उपत्यकामा ३.७१ प्रतिशत, तराईमा २.३५ प्रतिशत, पहाडमा ३.९५ प्रतिशत र हिमालमा ४.२२ प्रतिशत मूल्यवृद्धि रहेको छ ।
समीक्षा महिनामा वैदेशिक व्यापारको अवस्थामा पनि सुधार देखिएको छ ।

पाँच महिनामा कुल वस्तु निर्यात ५.१ प्रतिशतले वृद्धि भई ५० अर्ब छ करोड रुपियाँ पुगेको छ । वस्तुगत आधारमा अलैँची, जुटका सामान, धागो (पोलिस्टर तथा अन्य), चाउचाउ, पस्मिनालगायतका वस्तुको निर्यात बढेको छ भने पाम तेल, दाल, जस्तापाता, उनी गलैँचा, लत्ताकपडालगायतका वस्तुको निर्यात घटेको छ ।

कुल वस्तु आयात भने ९.६ प्रतिशतले घटेर पाँच खर्ब २५ अर्ब ५० करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ४.२ प्रतिशतले घटेको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः १.१ प्रतिशत, २४.४ प्रतिशत र २०.८ प्रतिशतले घटेको छ ।

वस्तुगत आधारमा कच्चा सोयाबिन तेल, चामल, एमएस बिलेट, दूरसञ्चारका उपकरण तथा पार्टपुर्जा, कोइलालगायतका वस्तुको आयात बढेको छ भने पेट्रोलियम पदार्थ, हवाईजहाजका पार्टपुर्जा, कच्चा पाम तेल, अन्य मेसिनरी तथा पार्टपुर्जा, यातायातका साधन तथा पार्टपुर्जालगायतका वस्तुको आयात घटेको छ ।

समीक्षा अवधिमा शोधनान्तर एक खर्ब छ अर्ब ४८ करोड रुपियाँले बचतमा छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर २३ अर्ब ३० करोड रुपियाँले बचतमा थियो । चालू खाता भने २१ अर्ब ३२ करोड रुपियाँले घाटामा छ । गत वर्षको सोही अवधिमा चालू खाता ६५ अर्ब १३ करोडले घाटामा थियो ।

खुद प्रत्यक्ष वैदेशिक लगानी ३१.५ प्रतिशतले घटेर ४ अर्ब ५० करोड रुपियाँ पुगेको छ । जबकि गत आवको यही समयमा खुद प्रत्यक्ष वैदेशिक लगानी छ अर्ब ५७ करोड रुपियाँ थियो । समीक्षा अवधिमा भ्रमण आय ९३.५ प्रतिशतले घटेर दुई अर्ब ३० रुपियाँ मात्र पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ३५ अर्ब ५६ करोड रुपियाँ थियो । गोरखापत्र दैनिकबाट …………..

प्रतिकृया दिनुहोस्