RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/१०/२ गते
५५१ पटक

चालू आर्थिक वर्ष २०७७-०७८ को पाँच महिनामा प्रमुख आयात हुने १० वस्तमध्ये ६ वटामा गिरावट आएको छ । गत वर्षको सोही अवधिको तुलनामा सबैभन्दा धेरै आयात घट्नेमा पेट्रोेलियम पदार्थ, तयारी पोसाक, मेसिनरी उपकरण तथा पार्टपुर्जा, सवारी उपकरण तथा पार्टपुर्जा, औषधि, तथा विद्युतीय उपकरणजन्य सामग्रीहरू छन् ।

व्यापारघाटाको दायरा फराकिलो बन्दै गरेका बेला पछिल्लो समयमा आयातित हुने प्रमुख वस्तुको परिमाणमा गिरावट आउनुले केही सकारात्मक मान्न सकिन्छ । नेपाल राष्ट्र बैंक ले बुधबार सार्वजनिक गरेको चालू वर्षको ५ महिनाको तथ्यांकमा आयातको मुख्य हिस्सा ओगट्ने महत्वपूर्ण ६ वस्तुहरू घटेको देखिएको हो ।

नेपालको आयात व्यापारमा सबैभन्दा ठूलो हिस्सा ओगट्ने पेट्रोलियम पदार्थको गत वर्षको सोही अवधिको तुलनामा ३५ प्रतिशत घटेको छ । कुल आयातको ९.४ प्रतिशत ओगट्ने यस क्षेत्रले चालू वर्षको ५ महिनामा ४९ अर्ब १५ करोड रुपैयाँबराबरको पेट्रोलियम आयात भएको छ जबकि गत वर्षको सोही अवधिमा ७५ अर्ब ९२ करोड रुपैयाँको आयात भएको थियो ।

व्यापारविज्ञ तथा पूर्व वाणिज्य सचिव पुरुषोत्तम ओझाले कोभिडका कारण मानिसको आवतजावत कम हुनु, कतिपय डिजेलबाट चल्ने परियोजना पनि चल्न नसक्नु, तुलनात्मक रूपमा गतिविधि कम हुनुको असर इन्धनमा देखिएको बताए । बिजुलीको उच्चतम प्रयोग गरेर इन्धन आयात घटाउनमा जोड दिनुपर्ने उनको सुझाव छ ।

त्यसैगरी सवारी उपकरण, पार्टपुर्जाको आयातमा पनि चालू वर्षमा १०.७ प्रतिशत गिरावट आएको छ । चालू वर्षको ५ महिनामा ४५ अर्ब २१ करोड रुपैयाँको आयात भएकोमा गत वर्षको सोही अवधिमा ५० अर्ब ६२ करोड आयात भएको थियो । त्यसैगरी अन्य मेसिनरी उपकरण आयातमा पनि चालू वर्षमा १९ प्रतिशत गिरावट आएको छ ।

अर्कातर्फ यसै अवधिमा आयात बढ्नेमा चामल र कच्चा सोयाबिन तेल अगाडि छन् । गत वर्षको पाँच महिनामा १० अर्ब ९९ करोडको चामल आयात भएकोमा चालू वर्षमा आउँदा १८ अर्ब १७ करोडको आयात भएको छ । प्रतिशतका आधारमा हेर्दा यो गत गर्षको सोही अवधिको तुलनामा ६५ प्रतिशतले बढी हो । वरिष्ठ धानविज्ञ भोलामानसिंह बस्नेतले मासिक औसत साढे २ अर्बको चामल आयात भएको भन्दै ‘भाते कल्चर’ बढ्दै गएको बताए ।

अर्कातिर रेमिट्यान्सका कारण मसिनो चामल आयात गर्ने, मीठो–मसिनो खाने चलन पनि बढेकाले चामल आयात बढ्ने प्रवृत्ति भएकोले नार्क परिषद्लाई त्यस्ता बाली अनुमतिका लागि सुझाव दिएको बताए । चैते धान मंसिरको तुलनामा २५ प्रतिशत बढी फल्ने हुँदा यो खेती व्यापक बनाउन सकियो भने चामल आयात कम हुने बताए ।

चालू वर्षको पाँच महिनामा प्रतिशतका आधारमा तुलना गर्दा सबैभन्दा धेरै आयात कच्चा सोयाबिन तेलको भएको छ । गत वर्षको पहिलो पाँच महिनाको भन्दा चालू वर्षमा १ सय २१ प्रतिशतले कच्चा सोयाबिनको तेल आयात भएको केन्द्रीय बैंकको तथ्यांकमा उल्लेख छ । चालू वर्षमा १४ अर्ब ६५ करोडको कच्चा सोयाबिन तेल आयात भएकोमा गत वर्ष ६ अर्ब ६२ करोडको मात्रै आयात भएको थियो । आयात व्यापारमा चामलको ३.५ र कच्चा सोयाबिन तेलको २.८ प्रतिशत भूमिका छ ।

टेलिकम पूर्वाधारको आयात पनि २० प्रतिशत बढेर १५ अर्ब पुगेको छ । कुल आयात व्यापारमा टेलिकम पूर्वाधारको आयातको हिस्सा भने २.९ प्रतिशत छ । नेपाल दूरसञ्चार प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले कोभिडको समयमा पनि दूरसञ्चार क्षेत्रको काम भइ नै रहेको र यो

क्षेत्रमा बढ्दो प्रतिस्पर्धाका कारण पूर्वाधार आयात बढेको बताउँछन् । दूरसञ्चार उपकरणहरू सेवाप्रदायकले जत्ति धेरै आफ्नो सेवालाई बढाउँछन्, त्यति नै आयात पनि बढ्ने हो । अहिले प्रतिस्पर्धामा नेपाल टेलिकम र एनसेल छन् भने कोभिड–१९ ले इन्टरनेट सेवाप्रदायक कम्पनीलाई ग्राहक थप्ने तथा तान्ने अवसर दिएको छ ।

करोबार दैनिकबाट………….

प्रतिकृया दिनुहोस्