RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/१०/४ गते
१०८२ पटक

मलेसियाको सामाजिक सुरक्षा योजनामा आबद्ध हुने नेपाली श्रमिकको संख्या बढदै गएपछि यसको व्यवस्थापनका लागि नेपाल र मलेसियाबीच सम्झौता हुने भएको छ ।

मलेसियाको सामाजिक सुरक्षा संगठन (सोक्सो) र नेपालको वैदेशिक रोजगार बोर्डबीच योजनालाई थप व्यवस्थित गर्न सम्झौता हुन लागेको हो । वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठले मलेसिया सरकारले त्यहाँ कार्यरत नेपाली श्रमिकलाई सामाजिक सुरक्षा योजनामा आबद्धता गराउने योजनालाई प्राथमिकता दिएपछि दुई संस्थाबीचको सम्झौता अन्तिम चरणमा पुगेको बताए ।

मलेसियाले १ वर्ष अघिदेखि त्यहाँ कार्यरत नेपाली श्रमिकलाई सामाजिक सुरक्षा योजनामा आबद्ध गर्ने काम सुरु गरेको थियो । नेपालका श्रम गन्तव्यमध्ये मलेसियाले सबैभन्दा पहिला नेपाली श्रमिकलाई सामाजिक सुरक्षा योजनामा आबद्ध गरेको हो । हालसम्म १ लाख ३५ हजार नेपाली मलेसियाको सामाजिक सुरक्षा निकाय सोक्सोमा आबद्ध भइसकेका छन् ।

मलेसिया सरकारले योजनामा सामेल भएका नेपालीको सामाजिक सुरक्षा रकम नेपालको बोर्डमार्पmत पठाउने र अन्यकार्य गर्न बोर्डलाई जिम्मेवारी दिने गरी सम्झौता गर्न लागेको हो । “नेपाली श्रमिकको सामाजिक सुरक्षावापतको रकम नेपाल पठाउन यहाँको आधिकारिक निकायसँग सम्झौता गर्ने योजना बनाइरहेका बेला बोर्डलाई अनुरोध गरेको छ ।” कार्यकारी निर्देशक श्रेष्ठले भने, “यसका लागि मलेसियाको सोक्सोले बोर्डसँग रकम व्यवस्थापन र अन्य कामका लागि सहकार्यमा काम गर्न प्रस्ताव गरेको छ ।” यसका लागि बोर्ड कार्यविधि बनाएर अघि बढने गरी तयारीसमेत पूरा गरेको छ ।

मलेसिया सरकारको मानव संशाधन मन्त्रालयअन्तर्गत स्थापित सोक्सोमा रोजगारदाताले श्रमिकको तलबको १.२५ प्रतिशत मासिक रूपमा योगदान गर्ने गरी योजनाअघि बढेको मलेसियास्थित नेपाली दूतावासले जनाएको छ । यसमा श्रमिकको पैसा खर्च नहुने गरी रोजगारदाताले कोषमा रकम जम्मा गर्ने व्यवस्था मलेसिया सरकारले मिलाएको छ । यो कार्यक्रममा हालसम्म १ लाख ३५ हजार नेपाली आबद्ध भइसकेको बोर्डले जनाएको छ ।

नेपाली श्रमिकको सामाजिक सुरक्षाको काम गर्दै आएको सोक्सो र बोर्डले २ साताभित्रै सम्झौतापत्र आदानप्रदान गरेर सम्झौता गर्ने तयारी गरेको छ । यसको नीतिगत सहमतिका लागि बोर्डले मन्त्रिपरिषद्बाट स्वीकृति पाउने चरणमा रहेको कार्यकारी निर्देशक श्रेष्ठले बताए । बोर्डले मलेसियामा रहेका नेपाली श्रमिकले सामाजिक सुरक्षा योजनामा आबद्ध भएपछि यसलाई अन्यश्रम गन्तव्य देशमा लागू गर्न पहल गर्ने योजनासमेत अघि बढाउने भएको छ ।

मलेसियाको सामाजिक सुरक्षामा आबद्ध भएका नेपाली श्रमिकको मृत्यु भएमा परिवारका आमा, बुबा, श्रीमान् वा श्रीमतीले आजीवन र २१ वर्ष पूरा नगरेका छोराछोरीले कामदारको तलबको ९० प्रतिशत मासिक तलब बराबरको पैसा पाउने छन् ।

बोर्डले मलेसियाको उदाहरण आधार मानेर अन्यश्रम गन्तव्यमा कार्यरत नेपाली श्रमिक सामाजिक सुरक्षामा आबद्ध गर्ने सम्बन्धमा समेत काम सुरु गर्ने जनाएको छ ।

यो योजनामा दर्ता भएका नेपाली श्रमिकको कार्यस्थलमा मृत्यु, अंगभंग र घाइते भए सामाजिक सुरक्षाबाट नै क्षतिअनुसारको नगद पाउने छन् । काम गर्दागर्दै श्रमिक दुर्घटनामा परेर अल्पकालीन र दीर्घकालीन अपांगता भएमा सोक्सोले नै क्षतिपूर्ति रकम दिने जनाइएको छ ।

करोबार दैनिकबाट…………….

प्रतिकृया दिनुहोस्