RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/१०/६ गते
५४३ पटक

रुकुम पश्चिम — आठबीसकोट नगरपालिका-९ स्थित राडी बजारमा सोमबार बेलुकीदेखि नेकपाको दाहाल–नेपाल समूह र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप भइरहेको छ ।

राडी बजार । फाइल तस्बिरः कान्तिपुरबिहानदेखि पटकपटक झडप भएपछि प्रहरीले २ राउन्ड एसएलआर र ७ राउण्ड थ्री नट थ्री राइफलबाट गरी ९ राउन्ड हवाई फायर गरेको छ भने १ राउन्ड अश्रु ग्यास प्रहार गरेको छ । स्थिति नियन्त्रणमा लिनका लागि सुरक्षाकर्मीको टोली आठबीसकोट गइरहेको छ ।

जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक ध्रुवकुमार श्रेष्ठले अवस्था नियन्त्रणमा लिन प्रयास भइरहेको जानकारी दिए । सोमबार बेलुकी ८ बजेबाट दुवै पक्षका कार्यकर्ताबीच विवाद भएपछि विवाद समाधान गरिए पनि मंगलबार बिहानैदेखि पुनःझडप भएको डीएसपी श्रेष्ठले बताए ।

नेकपाका ८–१० जना र नेपाली कांग्रेसका १०–१५ जना जम्मा भएर विवाद भइरहेको थाहा पाएपछि सोमबार नै उनीहरुलाई तितरवितर पारिएको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको थियो ।

मंगलबार बिहानबाट भने अवस्था तानावग्रस्त बनेको हो । दुवै पक्ष छलफलका लागि इलाका प्रहरी कार्यालयमा पुगेका बेला झडपको अवस्था आएको हो । एक पक्षले अर्को पक्षलाई आक्रमण गरेपछि अर्को पक्षले बजारका मान्छेहरु उठाएर वातावरण थप बिग्रेको प्रहरीले जनाएको छ ।

झडपका क्रममा ९ नम्बर वडाध्यक्ष तारकबहादुर शाही सामान्य घाइते भएको डीएसपी श्रेष्ठले बताए । उनी नेपाली कांग्रेस निकट हुन् । हालसम्म कसैलाई नियन्त्रणमा लिए नलिएको बारेमा जानकारी आइनसकेको उनको भनाइ छ । अवस्था नियन्त्रणका लागि जिल्ला प्रहरी कार्यालयबाट बिहानै प्रहरी निरीक्षकको कमाण्डमा १२ जना जनपद र ७ जना सशस्त्र प्रहरी पठाइएको थियो । त्यसले पनि अवस्था नियन्त्रणमा नआएपछि थप सुरक्षाकर्मी राडी पुग्ने क्रममा छन् ।

जिल्ला प्रहरीले १५ जना, सशस्त्र प्रहरीले १५ जना प्रहरी खटाएको छ भने जाजरकोटको दल्ली इलाका प्रहरी कार्यालयबाट ११ जनाको टोली आइरहेको छ । चौरजहारी नगरपालिकामा रहेको दंगा नियन्त्रण गणबाट पनि १५ जना प्रहरी राडीका लागि हिँडेका छन् । पुरानै राजनीतिक रिसइबीको झगडा फेरि उठेको डीएसपी श्रेष्ठले बताए । राडीमा पटकपटक यी दुवै पक्षबीच झडप हुँदै आएको छ ।

कान्तिपुरबाट साभार…….

प्रतिकृया दिनुहोस्