RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/१०/११ गते
४७५ पटक

कोरोना भाइरसको महामारीले अन्तर्राष्ट्रिय उडान नरोकिएको भए बाराको निजगढका ३८ वर्षीय वीरबहादुर तामाङ यतिवेला परिवारसँगै घरमै हुन्थे । तर, दुर्भाग्य, उनी त छैनन् नै, परिवारजनले घरमा फोटो राखेर फूलमाला चढाउँदै उनको सम्झनामा दियो जलाइरहेका छन् । आफन्तजन वीरबहादुरको सिंगो शरीरको होइन, अस्तुको पर्खाइमा छन् ।

शनिबार नेपाल एयरलाइन्सको वाइडबडीले मलेसियाबाट ल्याएको उनको अस्तु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा छ । उनको परिवार अस्तु लिन निजगढबाट काठमाडौं आउँदै छ । ‘हाम्रो संस्कृतिअनुसार आज १३ दिने काम सक्यौँ, दाजुको अस्तु लिन भोलि काठमाडौं आउँदै छु,’ उनका भाइ सुरेन्द्र तामाङले शनिबार टेलिफोनमा नयाँ पत्रिकासँग भने ।

शनिबार उनका परिवारले १३ दिने काजक्रिया सकेको छ । तर, उनीहरूलाई अझै पत्यार लागेको छैन । लागोस् पनि कसरी ? मृत्यु भएको भनिएको दिन पनि वीरबहादुरले घरमा फोन गरेर राम्रैसँग कुराकानी गरेका थिए । परिवारजनका अनुसार, १२ पुसमा वीरबहादुरको बिदा थियो । त्यसैले उनले घरमा श्रीमती र छोराछोरीसँग फोनमा कुराकानी गरेका थिए । त्यसपछि उनी खाना खाएर आराम गर्न थाले । उनका साथीहरू गेम खेल्न भनेर अरू साथीको कोठामा गए । साथीहरू फर्केर कोठामा आउँदा वीरबहादुर बिस्तरामा स्वासविहीन लम्पसार थिए । मृत अवस्थामा भेटिएपछि साथीहरूले नै आफूहरूलाई खबर गरेको भाइ सुरेन्द्रले बताए ।

स्वास्थ्य अवस्था राम्रै भएका वीरबहादुरको मृत्युको कारण अस्पतालले कोरोना पोजेटिभ भनिदियो । भाइ सुरेन्द्रका अनुसार त्यसपछि शव भए पनि नेपाल ल्याउन हरदम कोसिस भयो । तर, कोरोना भएकाले नेपाली दूतावासले नेपाल फर्काउन नमिल्ने बतायो । बरु उतै दाहसंस्कारका लागि स्वीकृति दिन दबाब दियो । ‘दूतावासले मिल्दैमिल्दैन भन्यो । हामी नेपालमा बसेर केही गर्न सकेनौँ,’ सुरेन्द्रले पीडा सुनाए ।

घर आउन लकडाउनले रोक्यो, कोरोनाले प्राणवीरबहादुर नौ वर्षदेखि वैदेशिक रोजगारीमा मलेसियामा थिए । तीन वर्षमा घर आउँथे, केही महिना बस्थे र फेरि उतै फर्किन्थे । पेन्टरको भिसामा मलेसिया पुगेका उनी ६ महिनाअघि घर आउने तयारीमा थिए । तर, कोरोनाका कारण आउन पाएका थिएनन् । कोरोनाको महामारी बढेसँगै उनी काम गरिरहेको देश मलेसियाले पनि उडानहरू रोकेको थियो । नेपालले पनि विमानस्थल बन्द गरेको थियो । त्यसैले उनी घर फर्कन पाएनन् । उतै बस्ताबस्तै कुन वेला कोभिडको संक्रमण भयो, पत्तै भएन ।

अस्पतालले कोरोनाकै कारण ज्यान गएको भनेपछि मात्र वीरबहादुरलाई कोभिड भएको खुलेको थियो । त्यसैले उतै अन्त्येष्टि भयो । मलेसियामा अन्त्येष्टि गरिएको मितिका आधारमा उनको परिवारले यता निजगढमा १३ दिने काजक्रिया गरे ।

परिवारले काजक्रिया सकेकै दिनकोे अस्तु नेपाल पुगेको छ । उनका भाइ सुरेन्द्रले भने, ‘आजै आउथेँ, तर हाम्रो संस्कृतिअनुसार आज (शनिबार) १३ दिनको लामा पढायौँ । अब दाजुको अस्तु लिन भोलि काठमाडौं आउँछु ।’

प्रतिकृया दिनुहोस्