RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/१०/१५ गते
५८१ पटक

नेपालमै कोभिड परीक्षण सुरु भएको ठीक एक वर्षपछि बुधबारदेखि कोभिड– १९ विरुद्धको खोप अभियान सुरु भएको छ । पहिलो दिनमै ६४ जिल्लाका ९३ खोप केन्द्रबाट नौ हजार ८४ जनाले खोप लगाएका छन् । नेपालमा एक वर्षअघि अर्थात् १४ माघ ०७६ बाटै कोरोना भाइरसको परीक्षण सुरु गरिएको थियो ।

बुधबार बिहान १० बजे प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारबाट अभियानको उद्घाटन गरेका थिए । देशैभरिका खोप केन्द्र रहेका अस्पतालहरूमा अस्पतालका प्रमुख चिकित्सकहरूले खोप लगाएपछि खोप अभियान सुरु भएको हो ।

पहिलो दिनको खोप कार्यक्रममा देशभर उत्साहजनक सहभागिता भएको र खोपकै कारण कसैलाई पनि असामान्य स्वास्थ्य असर नदेखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । सरकारले भारतले अनुदानमा उपलब्ध गराएको ‘कोभिसिल्ड’ खोप लगाउन सुरु गरेको हो ।

बुधबार प्रदेश १ का एक हजार दुई सय ५५, प्रदेश २ का सात सय २६, बागमतीका दुई हजार ६ सय ९४, गण्डकीका एक हजार आठ सय ४३, लुम्बिनीका सात सय ३३, कर्णालीका सात सय ५१ र सुदूरपश्चिम प्रदेशका एक हजार ८२ जनाले कोभिड– १९ विरुद्धको खोप लगाएका छन् ।

अभियानको पहिलो चरणमा महामारीका वेला फ्रन्टलाइनमा खटिएर काम गर्ने स्वास्थ्यकर्मी, एम्बुलेन्स र शवबाहनका चालक, महिला स्वास्थ्य स्वयंसेविका, जेलमा रहेका व्यक्ति र उनीहरूको सुरक्षामा खटिएका सुरक्षाकर्मी, एयरपोर्ट र नाकामा काम गर्ने कर्मचारी र त्यहाँ खटिएका सुरक्षाकर्मीलाई खोप लगाउन थालिएको हो ।

कोभिड–१९ परीक्षणको केन्द्रीय प्रयोगशाला रहेको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा अस्पतालका निर्देशक डा. सागर राजभण्डारीले पहिलो खोप लगाएका थिए । त्यसपछि डा. अनुप बाँस्तोला र जनस्वास्थ्य प्रयोगशालाकी प्रमुख डा. रुणा झाले खोप लगाएपछि अन्य स्वास्थ्यकर्मीले खोप लगाएका थिए । काठमाडौं उपत्यकामा १२ वटा अस्पतालमा खोप केन्द्र रहेका छन् ।

‘पहिलो खोप मैले लगाएँ, त्यो मेरा लागि गौरवकै कुरा हो, तर त्यो मुख्य कुरा होइन,’ खोप लिएपछि डा. राजभण्डारीले नयाँ पत्रिकासँग भने, ‘अहिले स्वास्थ्यकर्मी स्वयं र सर्वसाधारणमा खोप लगाए त्यसले असर पो गर्छ कि भन्ने भ्रम छ । धेरैलाई लगाऊँ कि नलगाऊँ भन्ने मनमा डर छ । यत्तिका दिन लगाइएन अब किन लगाउने भन्ने पनि हुन सक्छ, तर म आफैँले लगाइसकेपछि ढुक्कका साथ सन्देश दिन चाहन्छु, यो अहिलेसम्म उपलब्ध भएकामध्ये सबैभन्दा सुरक्षित खोप हो । ढुक्क भएर खोप लगाउनुस् ।’

उनले खोप लगाएपछि कतिपयलाई सामान्य टाउको दुख्ने, ज्वरो आउने, खोप लगाएको ठाउँमा दुख्ने, एलर्जी हुनेजस्ता सामान्य समस्या देखिन सक्ने बताए । ‘मैले बिहानै खोप लगाएँ, अहिलेसम्म केही लक्षण छैन । कसैलाई सामान्य लक्षण छ भने त्यो पनि सामान्य कुरा हो । त्यो त अरू भ्याक्सिन लगाउँदा पनि भइरहेकै हुन्छ, त्यसैले यो भ्याक्सिन लगाउन डराउनुपर्दैन,’ डा. राजभण्डारीले भने ।

भारतले अनुदानमा उपलब्ध गराएको ‘कोभिसिल्ड’ खोप अक्सफोर्ड÷एस्ट्राजेनेकाले विकास गरेपछि सेरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गरेको हो । डा. राजभण्डारीका अनुसार यो आकस्मिक प्रयोगका लागि मात्रै हो । यो भ्याक्सिन भारतमा मात्रै होइन, अन्य धेरै देशमा पनि आकस्मिक प्रयोगमा रहेको छ । ‘यो बहुराष्ट्रिय कम्पनीले उत्पादन गरेको परीक्षणको थर्ड फेज पार गरिसकेको भ्याक्सिन हो । फेरि यही कम्पनीले विश्वका ६० भन्दा बढी देशमा भ्याक्सिन सप्लाई गरिरहेको छ, त्यसैले पनि सुरक्षित छ,’ उनले भने ।

नयाँ पत्रिका दैनिकबाट………..

प्रतिकृया दिनुहोस्