RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/१०/१६ गते
४८५ पटक

जुम्ला-कोरोना कहरका बीच पनि जुम्लामा उद्योग दर्तामा उल्लेखनीय वृद्धि भएको छ । विगतको तुलनामा गएको चैतदेखि मंसिर अन्तिमसम्मको तथ्यांकअनुसार ९ महिनामा मात्रै करिब साढे तीन सय बढी उद्योग दर्ता भएका छन् ।

उद्योग तथा उपभोक्ता हित सरंक्षण कार्यालय जुम्लाका अनुसार ०७६ चैत देखि ०७७ मंसिर अन्तिम सम्म जुम्लामा ३ सय १५ उद्योग दर्ता भएका छन् । पुस महिनाको रिर्पोट निकाल्न भने बाँकी छ । ९ महिनामा दर्ता भएका ३ सय १५ वटा उद्योग मध्य करिब ९४ प्रतिशत उद्योग कृषि तथा फलफूलजन्य रहेका छन् ।

कृषि र फलफूलमा आत्मनिर्भर मानिने जुम्लामा कृषिजन्य उद्योग नै बढी दर्ता हुनुलाई सकारात्मक पक्षका रूपमा लिइएको छ । उद्योग तथा उपभोक्ता हित सरंक्षण कार्यालय जुम्लाका प्रमुख पदमप्रसाद उपाध्याय भन्छन्, “कोरोनापछि स्थानीय तहले कृषि र रोजगारीलाई जोडेर लाखांैका कार्यक्रम ल्याएका छन् । सरकारी सेवा सुविधा तथा अनुदान पाउन अनिवार्य प्यानमा उद्योग दर्ता हुनैपर्ने प्रावधान भएकाले जुम्लामा उद्योग दर्ता ह्वातै बढेका हुन् ।”

९ महिनामा दर्ता भएका ३ सय १५ वटा उद्योगमध्ये १ सय ७८ उद्योग महिलाका नाममा दर्ता भएका छन् । जसमा २ सय ९४ उद्योग अर्थात् ९४ प्रतिशत उद्योग ‘कृषि तथा फलफूल’जन्य रहेका छन् भने अन्य १० वटा होटल व्यवसाय, ७ वटा निर्माण सेवा र ४ वटा फर्निचर उद्योग सञ्चालन भएका छन् । रोजगारी सिर्जना र आर्थिक विकास कृषिजन्य उद्योगबाटै सम्भव भएकाले जुम्लाका सबै स्थानीय तहले कृषिजन्य उद्योगमा लगानी बढाउनुपर्नेमा समेत जोड दिए ।

उद्योग दर्ता गर्नेमा यहाँको सिंजा गाउँपालिका पहिलो भएको छ भने गुठिचौर दोस्रो, पातारासी तेस्रो र तिला र तातोपानी गाउँपालिका चौथो भएका छन् । स्थानीय तहले कोरोनापछि कृषि र रोजगारमुखी उद्यमशिलताका कार्यक्रम ल्याएपछि कृषिजन्य उद्योगदर्ता बढेका हुन् ।
यता जिल्ला कृषि विकास कार्यालयका प्रमुख बालकराम देवकोटाले भने, “जुम्ली अर्गानिक वस्तुको ब्रान्डिङ लोगो तयार गर्दैछौ ।

कृषिजन्य उद्योग वृद्धि हुनु नै अर्गानिक उत्पादनको निर्यात वृद्धि हुनु हो ।” उद्यमी तथा सरकारी पक्ष मिलेर जुम्लाको कृषि उत्पादनलाई निर्यातमा जोड दिई आर्थिक विकासमा जुट्नुपर्ने देवकोटाको भनाइ छ । जुम्लाको आर्थिक विकासमा अन्य क्षेत्रभन्दा कृषि तथा फलफूलजन्य उद्योगले उल्लेखनीय भूमिका खेल्ने उनको विश्वास छ ।

जुम्लामा हालसम्म जम्मा २ हजार ५ सय ४३ वटा उद्योग दर्ता भएका छन् । विगतका वर्षभन्दा यस वर्ष कोरोना कहरमा पनि उद्योग दर्ताको संख्या हेर्दा जुम्लाका गाउँगाउँमा उद्यमी बढ्दै गएका छन् ।

कृषिजन्य उद्योगमा मात्रै २९ करोड लगानी
जुम्लामा बितेको ९ महिनाको अवधिमा ३ सय १५ उद्योग दर्ता भएका छन् । प्रतिउद्योग करिब १० लाख बढीका लगानी देखाएर दर्ता भएको कार्यालय प्रमुख उपाध्याले बताए । उनले भने, “प्रतिउद्योग १० लाख लगानीका दरले ३ सय १५ उद्योग धन्दा सञ्चालनमा करिब ३१ करोड ५० लाख बजेट लगानी भएको अनुमान छ ।”

जसमा २९ करोड ४ लाख लगानी कृषि तथा फलफूलजन्य उद्योगमा मात्रै भएको छ भने फर्निचर उद्योग, निर्माण सेवालगायतका उद्योगमा साढे २ करोड लगानी भएको उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयको भनाइ छ । लगानी बढी नै भए पनि दर्ता गर्दा राजस्व कम लाग्ने सोचले अधिकांश उद्यमीले १० लाखभन्दा माथिको लगानी नदेखाएको समेत बुझिएको छ ।

यता उद्योगी व्यवसायी रामकृष्ण चौलागाईं भन्छन्, “जुम्लामा उद्योगभन्दा बढ्दै जाने, त्यही रफ्तारमा लोडसेडिङ पनि बढ्दै जाने अवस्था छ । यस्तो प्रतिकूल परिस्थितिमा कसरी उद्योग सञ्चालन हुन्छन् । उद्योग सञ्चालन नियमित गर्न बत्तीको आपूर्ति पनि नियमित र सहज हुनुपर्छ ।” बत्ती नभएकै कारण सञ्चालित उद्योग पनि बन्द हुने अवस्थामा पुगेका छन् । नयाँ उद्योगको दिगो व्यवस्थापनका लागि सरकारी लगानी बढाउनुपर्नेमा उनको जोड छ ।

कारोबार दैनिकबाट………………

प्रतिकृया दिनुहोस्