रोमाञ्चक फाइनलमा सशस्त्र प्रहरीको चुनौति पन्छाउँदै नेपाल आर्मी क्लवले पहिलोपटक प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेटको उपाधि जितेको छ । चारपटक यस प्रतियोगिताको फाइनलमा पुगेको आर्मीले पहिलोपटक एकल उपाधि हात पारेको हो ।
टस हारेर पहिले ब्याटिङ गरेको त्रिभुवन आर्मीले नौ विकेटको क्षतिमा २ सय ११ रन बनाएको थियो । जवाफी ब्याटिङमा उत्रेको सशस्त्रले १ सय ७८ रन जोड्दा सबै विकेट गुमाउन पुग्यो । प्रतियोगितामा अपराजित रहेको सशस्त्र फाइनलमा ३३ रनले चुकेको हो ।
यद्यपि, पहिलो संस्करणको फाइनल वर्षाका कारण प्रभावित बनेपछि नेपाल पुलिस क्लबसँग उसले उपाधि बाँडेको थियो । त्यसपछि लगातार दुई पटक फाइनलमा पुगेको आर्मी २०१७ मा एपीएफ तथा २०१८ मा नेपाल पुलिस क्लबसँग पराजित भएको थियो ।
एपीएफका लागि ७१ रनको सामना गरेका आसिफ शेखले ८ चौका र १ छक्कासहित सर्वाधिक ६१ रनको इनिङ खेले । अर्का ओपनर सुवास खकुरेल १५ बलमा १४ रन जोडेर पेभेलियन फकिँदा कप्तान शरद भेषावकर गोल्डेन डक आउट भए ।
मध्य क्रमका ब्याट्सम्यान शंकर राना २१ तथा सुमित महर्जन १९ रन बनाएर पेभेलियन फर्किँदा भुवन कार्कीले ९ रन मात्र जोड्न सके । सन्दीप जोरा ३७ बलमा १ चौका र १ छक्कासहित २९ रन बनाउँदा अमरसिंह रौटेला १, कमलसिंह ऐरी २ र अविनाश बोहरा शून्यमा आउट भए । किशोर महतो शून्यमा अविजित रहेका थिए ।
एपीएफ पहिलो विकेटका लागि नवौं ओभरको अन्तिम बलसम्म असफल हुँदा आर्मीको रणनीति सफल देखिएको थियो । ओपनर सुशन ३४ बल खेलेर १ चौकासहित १३ रन बनाएर पेभेलियन फर्किँदा अनिल मण्डल ११ रन बनाएर आउट भए ।
तेस्रो नम्बरमा क्रिजमा उत्रिएका हरि चौहानले १०२ बलमा ६ चौकासहित ५८ रन बनाए । त्यस्तै भीम सार्की ३६ बलमा ७ रन जोडेर पेभेलियन फर्किँदा रोहित पौडेल पनि १३ रन बनाएर आउट भए ।
कप्तान विनोद ७ तथा राजेश पुलामी २८ रन बनाएर पेभेलियन फर्किँदा लोकेश बलमे ९ बलमा १५ रन जोडे । त्यस्तै, बिक्रम सोब ११ रन बनाएर आउट हुँदा साहब आलम २५ तथा जितेन्द्र मुखिया शून्यमा अविजित रहे ।
एपिएफका लागि अविनाश बोहराले १० ओभरमा २५ रन खर्चेर २ मेडनसहित ४ विकेट लिए । त्यस्तै, किशोर महतोले १० ओभरमा ५३ रन खर्चेर २ तथा भुवन कार्कीले १० ओभरमा २६ रन खर्चेर १ विकेट लिए । त्यस्तै, कमलसिंह ऐरीले १० ओभरमा ३४ रन खर्चेर १ मेडनसहित १ विकेट लिएका थिए । कप्तान शरद भेषावकरले ६ ओभरमा ३५ रन खर्चेर १ विकेट लिए ।
विजेता आर्मीले १० लाख रूपैयाँ प्राप्त गर्नेछ भने उपविजेता एपिएफले ५ लाख रूपैयाँ प्राप्त गर्नेछ । त्यस्तै दुई सेमिफाइनलिस्ट वाग्मती प्रदेश र नेपाल पुलिस क्बले ५०/५० हजार प्राप्त गर्नेछन् ।