RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/१०/१८ गते
६२४ पटक

चितवन । नेपाल कम्युनिष्ट पाटी नेकपा ओली समुहका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले  राष्ट्रियता र सीमा विवादबारे हिम्मतका साथ बोल्दा आफूलाई आफ्नै पार्टीबाट हटाउने खेल भएको बताएका छन् ।

नेकपा जिल्ला कमिटी चितवनले शनिबार आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले राष्ट्रको स्वाभिमानलाई उँचो बनाउँदै विकास र समृद्धि हासिल नगर्दासम्म आफूले विश्राम नलिने बताए ।

प्रधानमन्त्री ओलीले सरकारलाई सुरुकै दिनदेखि पार्टीका केही शीर्ष नेताले लगातार असहयोग गर्दै सरकारमाथि अनावश्यक हमला गरी  असफल बनाउने खेल खेलेको आरोप लगाए । ओलीले केही व्यक्तिका कारण पार्टी र सरकार सधैं समस्यामा पर्ने गरेको र उनीहरू बाहिरिएपछि सरकार र पार्टी दुवैले सशक्त रूपमा काम गर्न सकेको दाबी गरे । आफ्नो राष्ट्रियताको भावनालाई आमजनताले मन पराएकाले पार्टीभित्रकै केही शीर्ष नेताको सातो गएको उनले बताए । देशको स्वाभिमान र राष्ट्रियताका लागि ‘चुँ’सम्म बोल्न नसक्नले कथित राष्ट्रवादको जामा पहिरनु हास्यास्पद भएको उनले बताए ।

प्रधानमन्त्री ओलीले सरकारलाई कामै गर्न नदिएर अनावश्यक घेराबन्दी गरेपछि बाध्य भएर प्रतिनिधिसभा विघटन गरी नेपाली जनतासमक्ष आएको स्पष्ट पारे ।

‘राष्ट्रियता र सीमा मिचिएको विषयमा सरकार प्रमुखले बोल्दा राजीनामा माग्ने काम भयो । पार्टीको संगठन निर्माण गर्न   काम नगरी गुट निर्माणको काम भयो । सरकार र पार्टी सञ्चालनमा सधैं अवरोध गरेकाले बाध्य भएर प्रतिनिधिसभा विघटन गरेर निर्वाचनमा आएका हौं,’ प्रधानमन्त्री ओली भने ।

प्रधानमन्त्री ओलीले चितवनको अयोध्यापुरीमा राम मन्दिर बनाउने योजनाको ‘मास्टर प्लान’ तयार भइरहेको बताए । ‘रामको भव्य प्रतिमूर्ति तयार भइसकेको छ । अयोध्यापुरीमा राम मन्दिर बनिसकेपछि चितवन विश्वका हिन्दु, संस्कृतिविद्, पुरातत्वविद् तथा सभ्यताविद्को गन्तव्य हुनेछ,’ प्रधानमन्त्री ओलीले भने ।

प्रधानमन्त्री ओलीले अयोध्यापुरीमा राम मन्दिर बनाउने कुरा चितवनबाट निर्वाचित भएका सांसदले बोल्न नसक्नु दुर्भाग्यपूर्ण रहेको बताए ।

‘यही जिल्लाबाट छानिएका, त्यहीको निर्वाचन क्षेत्रबाट छानिएका सांसद राम जन्मभूमि अयोध्यापुरीमा राम मन्दिर बनाउने कुरा चुइँक्क बोल्न किन सक्नुहुन्न ? कसका डरले हो ?’ प्रधानमन्त्री ओलीले त्यहाँका सांसद एवं राजनीतिक रूपमा विभाजित भएका नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डप्रति कटाक्ष गर्दैै भने, ‘राम अयोध्यापुरीमा जन्मिएका भन्न नसक्ने मान्छे बडा सक्कली राष्ट्रवादी भएर हिँड्नुभएको छ । मयूरको प्वाँख लगाउँदैमा अर्को कुनै चरो मयूर हुँदैन । त्यो चरो त्यही रहन्छ,’ उनले भने ।

राजधानी दैनिकबाट…………

प्रतिकृया दिनुहोस्