RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/१०/२० गते
८५१ पटक

प्रधानमन्त्री केपी शर्मा ओलीले धनुषाको मिथिला नगरपालिका–७ ढल्केबरमा निर्माण भएको देशकै पहिलो चार सय केभी ढल्केबर सबस्टेसन उद्घाटन गरेका छन् ।

मुलुकभित्र पूर्व–पश्चिम विद्युत् आपूर्ति र भारतसँग विद्युत् व्यापारका लागि ग्यास इन्सुलेटेड सबस्टेसन (जीआईएस) प्रविधियुक्त स्वचालित ढल्कबेर मुलुककै ठूलो सबस्टेसन हो । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझी, सहरी विकासमन्त्री प्रभु साहसहित पुगेका प्रधानमन्त्री ओलीले १३ बिघा जमिनमा फैलिएको ४०० केभी र २२० केभी सबस्टेसनको उद्घाटन गरे ।

नेपाल सरकार र विद्युत् प्राधिकरणको २ अर्ब २० करोड रुपैयाँ लगानीमा निर्माण भएको ४००÷२२० केभीको ढल्केबर सबस्टेसन ४०० केभी प्रणालीमा आधारित नेपालकै पहिलो सबस्टेसन हो । ४००÷२२० केभी ढल्केबर सबस्टेसनमा ३१५ एमभीए क्षमताका तीन वटा गरी ९४५ एमभीए क्षमताको पावर ट्रान्सफर्मर छन्, जसले करिब नौ सय मेगावाट विद्युत्् प्रसारण गर्न सक्दछन् ।

यसैगरी, २२०÷१३२ केभी सबस्टेसनमा रहेका तीन वटा ट्रान्सफर्मरको क्षमता ६३५ एमभीए छ भने अर्को ३१५ एमभीए जडान भइरहेको छ । सो ३१५ एमभीएको ट्रान्सफर्मर अहिले नो लोड चार्ज गरिएको छ भने माथिल्लो तामाकोशीको निर्माणपछि मात्र पूर्ण रुपमा सञ्चालन हुनेछ ।
सबस्टेसन सञ्चालनमा आएसँगै नेपाल र भारतबीचको ढल्केबर–मुज्जफ्फरपुर पहिलो ४०० केभी क्रसबोर्डर प्रसारण लाइनमार्फत दुई मुलुकबीच करिब एक हजार मेगावाटसम्म विद्युत् आदान–प्रदान गर्न सकिने छ ।

हेटौंडा–ढल्केबर–इनरुवा ४०० केभी प्रसारण लाइनको निर्माण सकिएपछि करिब दुई÷दुई सय मेगावाट विद्युत्् ढल्केबर सबस्टेसनबाट हेटौडा र इनरुवातर्फ पठाउन सकिने छ । दोलखामा निर्माणाधीन ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको विद्युत् गोंगर–खिम्ती–ढल्केबर २२० केभी प्रसारण लाइनमार्फत ढल्केबर सबस्टेसम्म ल्याइ मुलुकभित्र खपतका लागि पूर्व–पश्चिम पठाउन सकिने छ ।

हेटौंडा–ढल्केबर–इनरुवा ४०० केभी प्रसारणलाइन निर्माण सम्पन्न नभएसम्मका लागि अहिले रहेको १३२ कभी प्रसारणलाइनमार्फत करिब तीन सय मेगावाट विद्युत्् पूर्व–पश्चिम पठाउन सकिने छ । आन्तरिक खपत गरेर बढी भएको विद्युत््लाई सबस्टेसनमार्फत भारत निर्यात गर्न सकिने छ ।

जीआईएस प्रविधियुक्त स्वचालित अत्याधुनिक सबस्टेसनलाई भविष्यमा थप विस्तार गर्दै जान मिल्ने गरी बनाइएको छ । भारतीय कम्पनी सतलजले निर्माण गरिरहेको ९ सय मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजनाबाट नेपालले पाउने निःशुल्क ऊर्जा पनि यही ढल्केबर सबस्टेसनमा प्राप्त हुने छ ।

चार सय केभी सबस्टेसन निर्माणका लागि २२ माघ २०७४मा ठेक्का सम्झौता भएको थियो । तराईको डुवान, शीतलहर र विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९को कहरले सबस्टेसनको निर्माण प्रभावित भएको थियो । आयोजनाको परामर्शदाताको काम नेपाली कम्पनी एनईए इन्जिनियिरिङले गरेको थियो ।

नेपाल सरकार तथा प्राधिकरणको लगानी र विश्व बैकको नेपाल–भारत विद्युत् प्रसारण तथा व्यापार आयोजना अन्तर्गत २२०÷१३२ केभी सबस्टेसनको निर्माण भएको हो । उत्पादित विद्युत्को आन्तरिक खपत एवं द्विपक्षीय तथा क्षेत्रीय विद्युत् व्यापार प्रवद्र्धन लागि आन्तरिक प्रसारण एवं वितरण र अन्तरदेशीय प्रसारण प्रणालीहरूको विस्तार तथा सदृढीकरण गरिएको हो ।

बक्समा
सबस्टेसन तत्काल उपयोगविहीन
प्रधानमन्त्री ओलीले सोमबार उद्घाटन गरेको ४ सय केभीको सबस्टेसन तत्कालका लागि भने उपयोगविहीन हुने देखिएको छ । ४ सय केभीको इनरुवा र न्यू हेटौंडा सबस्टेसन तथा ४ सय केभीकै न्यू हेटौंडा–ढल्केबर–इनरुवा प्रसारणलाइन निर्माण सम्पन्न नभएका कारण तत्कालका लागि उपयोगविहीन बनेको हो ।

प्राधिकरण स्रोतका अनुसार दुई सबस्टेसन निर्माण सम्पन्न हुन कम्तीमा एक वर्ष लाग्छ भने प्रसारणलाइन निर्माण सम्पन्न हुन डेढ वर्षभन्दा बढी लाग्छ । नेपालले मुज्जफ्फरपुरबाट चार सय केभीको प्रसारण लाइनमार्फत ढल्केबरसम्म विद्युत् आयात गरिरहे पनि ढल्केबरबाट ४००-२२० केभीमा तथा २२०-१३२ केभीको भोल्टेजमा रुपान्तरण गरी विद्युत् प्रसारण हुँदै आएको छ ।

प्राधिकरणका ४००-२२० केभीका ३१५ एमभीएका तीन ट्रान्सफर्मर भने सम्पन्न भइसकेको छ । तर २२०-१३२ केभीको चार ट्रान्सफर्मरमध्ये १६० एमभीएका दुई निर्माण भइ ३१५ एमभीएको सम्पन्न भइसकेको छ । ३१५ एमभीएको एउटा भने बाँकी छ । माथिल्लो तामाकोशी निर्माण सम्पन्न भएपछि मात्र ढल्केबर पूर्ण रुपमा चार्ज हुनेछ । ३१५ एमभीए नो लोडमा चार्ज गरी सोमबार उद्घाटन गरिएको हो ।

कारोबार दैनिकबाट…………….

प्रतिकृया दिनुहोस्