RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/१०/२२ गते
१०५४ पटक

काठमाडौँ — नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सले बन्द हडताल रोक्न आग्रह गरेका छन् । कोभिड–१९ ले अर्थतन्त्र संकुचित बनाएकाले काम गर्ने वातावरण बनाइदिन उनीहरूले आग्रह गरेका हुन् ।

‘कोभिड–१९ ले अर्थतन्त्र संकुचित थियो । साना र मझौला व्यवसायीहरू एकदमै संकुचित अवस्थामा छन् । अहिलेको अवस्था बेहाल छ, सडकमा काम गर्ने नाजुक छन्,’ महासंघका अध्यक्ष शेखर गोल्छाले भने, ‘हामी राजनीतिमा कमेन्ट गर्न चाहन्नौं । हामी एउटै मात्र भन्छौं, काम गर्ने वातावरण नबिगारिदिनुस् । काम गर्ने मान्छेलाई अवरोध नगरिदिनुस् । अवस्था खराब छ, गरिखान दिनुस् ।’

संविधान जारी भएपछि राजनीतिक पार्टीहरूले बन्द हडताल नगर्ने प्रतिबद्धता जनाएका थिए । राजनीतिक प्रतिबद्धतापश्चात् तुलनात्मक रूपमा बन्द हडताल धेरै कम भएको थियो । यो सिलसिला फेरि सुरु नहोस् भनेरै निजी क्षेत्र एकजुट भएको महासंघले जनाएको छ । ‘यो समय एकदमै कठिन छ । बन्द हडताल फेरि सुरु नहोस्, त्यही आधारमा संयुक्त विज्ञप्ति निकालेका छौं,’ अध्यक्ष गोल्छाले भने, ‘यो सम्पूर्ण निजी क्षेत्रको विज्ञप्ति हो । यसमा सम्पूर्ण निजी क्षेत्रको भावना छ ।’

नेपाल उद्योग परिसंघका अध्यक्ष सतीशकुमार मोरले पनि अर्थतन्त्रमा समस्या आएपछि निजी क्षेत्र एकजुट भएको बताए । कोभिडले अर्थतन्त्र बिग्रेकाले त्यतातिर ध्यान दिनुपर्ने उनको भनाइ छ । ‘राजनीतिमा केही बोल्नु छैन । अर्थतन्त्रमा समस्या आएपछि एकजुट भएका छौं । बन्द हडताल र चक्काजाम गर्दा अर्थतन्त्र पूरै डिस्टर्ब हुन्छ । रोजगारी सिर्जनामा समस्या हुन्छ,’ उनले भने, ‘बन्द हडताल सधैंका लागि बन्द गरौं ।’ बन्द हडताल हुँदा विश्वासको वातावरणमा पुनः कमी आउने अध्यक्ष मोरले बताए । ‘कुनै राजनीतिक दलको पक्ष/विपक्षमा छैनौं, समस्या भए त्यसको निर्क्यौल गरौं । बन्द हडतालले विश्वासको वातावरण बिग्रन्छ,’ उनले भने, ‘कोभिडले अहिले समस्यामा छौं, थप समस्यामा पार्ने काम नगरिदिऊँ ।’

चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्लले पनि जनताको चुलो निभ्ने तर नेतृत्व वर्गको चुलो बल्ने काम नगर्न आग्रह गरे । बन्द हडताल गरेर सर्वसाधारण/व्यवसायीलाई काम गर्ने वातावरणबाट वञ्चित गर्न नहुने उनले बताए । ‘बन्द हडताल सबैका लागि दुःखको कुरा हो । राजनीतिक लडाइँ हुन सक्ला । तर निजी क्षेत्र कुनै पार्टीको आग्रह/पूर्वाग्रहमा उभिएको छैन । व्यावसायिक वातावरण बिगार्न भएन,’ उनले भने, ‘कर तिरेका छौं, सेवा दिएका छौं । आर्थिक उन्नति र जनताको हितमा सबै नेताहरूले सोचिदिनुपर्‍यो । व्यावसायिक वातावरण बिग्रिए मुलुक अगाडि बढ्न सक्दैन ।’

निजी क्षेत्रले जारी गरेको विज्ञप्तिमा बन्द, हडताल, चक्काजाम एवं आवागमनमा अवरोध हुने किसिमका भेला, सम्मेलनलगायतका गतिविधिले पेसा व्यवसायमा अवरोध भई आय आर्जनमा प्रत्यक्ष प्रभाव परेर थप पीडा दिने उल्लेख छ । विषम परिस्थितिमा समस्याको शान्तिपूर्ण समाधान निकाल्ने विकल्प पन्छाई सर्वसाधारण र निजी क्षेत्रको काम गर्न पाउनेलगायतका नैसर्गिक अधिकार कुण्ठित पार्न नहुने निजी क्षेत्रको ठहर छ ।

‘बन्द हडतालका कारण साना उद्यमी, व्यवसायी र दैनिक ज्यालामा गुजारा चलाउने सर्वसाधारणलाई सबैभन्दा बढी असर पर्नेतर्फ राजनीतिक दलहरूको ध्यानाकर्षण गराउन चाहन्छौं,’ विज्ञप्तिमा भनिएको छ, ‘नयाँ संविधान निर्माणपश्चात् आर्थिक विकासलाई प्राथमिकतामा राखी बन्द, हडताल, चक्काजामलगायतका गतिविधि नगर्ने सबै राजनीतिक दलहरूले गरेको प्रतिबद्धतालाई पनि हामी यहाँ स्मरण गराउन चाहन्छौं । अहिलेको कठिन परिस्थिति, विगतका हाम्रा तिता अनुभवसमेतलाई गम्भीर रूपमा मनन गरी बन्द हडताललगायतका कार्यक्रमको घोषणा गरिएको हो भने तत्काल फिर्ता लिई मुलुकलाई थप संकटमा नधकेल्न अपिल गर्दछौं ।’

कान्तिपुर दैनिकबाट………….

प्रतिकृया दिनुहोस्