RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/१०/२२ गते
७९८ पटक

काठमाडौं : पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल समूहले गरेको बन्द उलंघन गर्ने १५ वटा सवारी साधनमा तोडफोड भएको छ भने एउटा ट्याक्सी जलाइएको छ ।

प्रदर्शनकारीले राजधानीको गोंगबुमा प्रदेश ३–०१–००२ ज ५८८१ नम्बरको ट्याक्सीमा आगजनी गरेका हुन् । चालक कुम्भनारायण श्रेष्ठलाई सामाखुसी जाउँ भनेर भित्र छिर्ने बित्तिकै दुई जनाले पेट्रोल छर्केर आगजनी गरेका थिए ।

राजधानीसँगै उपत्यकाबाहिरका विभिन्न जिल्लामा प्रदर्शनकारीले एउटा सरकारीसहित १५ वटा सवारीमा तोडफोड गरेको प्रहरी मुख्यालयले जनाएको छ।

काठमाडौं भित्रिने मुख्य नाकामा भने प्रदर्शनकारीले सवारी आवागमनलाई अवरोध गरेका थिए। बन्द सफल पार्न पूर्वप्रधानमन्त्रीसमेत रहेका नेकपाका अध्यक्षद्वय प्रचण्ड, नेपाल, नारायणकाजी श्रेष्ठ, अष्टलक्ष्मी शाक्य, पम्फा भुसाल लगायतका नेताहरु सडकमा उत्रिएका थिए।

चावहिल र कोटेश्वरमा भने मुडभेडको अवस्था आउनसक्ने आंकलन गर्दै  प्रहरीले सवारी आवागमन रोकेको थियो । प्रदर्शनकारीले प्रेसलाई समेत निशाना बनाएका छन् । ललितपुरको सातदोबाटोमा माउन्टेल टेलिभिजनकर्मी दिवाकर साहमाथि हातपात गरे।

स्थिति नियन्त्रणमा लिन जनकपुरमा प्रहरीले २७ राउण्ड हवाई फायर र १२ राउण्ड टियर ग्यास प्रहार गरेको छ । प्रदर्शनमा पूर्वमन्त्री रामचन्द्र झालगायत प्रदर्शनकारी घाइते भएका छन् ।

प्रदर्शनकारी बिहानै तोडफोडमा उत्रिएपछि दिउँसोसम्म मोटरसाइकलबाहेक निजी सवारीसाधन गुडेनन् ।  बन्दको दिन ट्याक्सी, टेम्पो र माइक्रोबस भने भाट्फुट्ट चलेका छन् । मुख्य सडकका व्यापरिक केन्द्र सबै बन्द भए ।

 

 

प्रतिकृया दिनुहोस्