RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/१०/२९ गते
१३८८ पटक

एजेन्सी काठमाडौं,  विश्व स्वास्थ्य संगठनले कोरोनाभाइरसको नयाँ प्रजाति विश्वका ८६ राष्ट्रमा पुगेको जनाएको छ । विश्व स्वास्थ्य संगठनका अनुसार बेलायतमा सेप्टेम्बर २० मा पहिलो पटक पुष्टि भएको कोरोनाभाइरसको नयाँ प्रजाति बी.१.१.७ विश्वका ८६ राष्ट्रमा पुगेको जनाएको छ ।
नेपालमा भने बी.१.१.७ कोरोनाभाइरस माघ पहिलो साता पुष्टि भएको हो । बेलायतबाट फर्किएका तीन जनामा उक्त भाइरसको सङ्क्रमणको पुष्टि भएको थियो । त्यसयता कोरोनाभाइरसको नयाँ प्रकारबाट सङ्क्रमित भएकाहरुको तथ्याङ्क सार्वजनिक भएको छैन् ।

प्रारम्भिक अध्ययनमा कोरोनाभाइरसको नयाँ प्रजाति साबिकको भन्दा बढी सङ्क्रामक र केही हदसम्म स्वास्थ्य अवस्थामा बढी जटिलता ल्याउने पाइएको छ । सीएनएनका अनुसार पछिल्लो साता कोरोनाभाइरसको नयाँ प्रकार सङ्क्रमित बिरामी थप छ राष्ट्रमा पुष्टि भएको छ ।

गत् डिसेम्बर १४ मा बेलायतमा परीक्षण गरिएको नमूनामा ६३ प्रतिशत सङ्क्रमितमा नयाँ प्रकारको कोरोनाभाइरस पुष्टि भएकोमा गत् सोमबारसम्म उक्त सङ्क्रमितको ९० प्रतिशत नयाँ भाइरसको सङ्क्रमणको पुष्टि भएको छ ।

विश्व स्वास्थ्य संगठनले कोरोनाभाइरसका थप दुई प्रकार तीब्र रुपमा फैलिरहेको जनाउँदै उक्त नयाँ प्रकारबारे अनुसन्धान भइरहेको जनाएको छ । जसलाई बी.१.३५१ र पी१ नाम दिइएको छ । बी.१.३५१ पहिलो पटक दक्षिण अफ्रिकामा पुष्टि भएको छ । पी.१ ब्राजिलमा पुष्टि भएको हो । नयाँ दुबै प्रकारको भाइरसबाट सङ्क्रमितको पहिचान नेपालमा भइसकेको छैन् ।

गत् सोमबारसम्म दक्षिण अफ्रिकामा पहिलो पटक पुष्टि भएको बी.१.३५१ कोरोनाभाइरस विश्वका ४४ राष्ट्रसम्म पुगेको विश्व स्वास्थ्य संगठनले जनाएको छ । ब्राजिलमा पाइएको पी.१ भने १५ राष्ट्रमा पुष्टि भएको संगठनले उल्लेख गरेको छ ।

सीएनएनका अनुसार वैज्ञानिकहरु भने कोरोनाभाइरसको स्वभाव बदलिरहेकोबाट चकित नभएको जनाएको छ । तर उनीहरु भने उत्परिवर्तन हुँदै जाँदा कुनै बिन्दुमा गएर जटिल रोग निम्तिन सक्ने जोखिमबाट त्रसित भएका छन् । विज्ञहरुले कोरोनाभाइरसको खोपले नयाँ प्रकारको कोरोनाभाइरस विरुद्धको प्रतिरक्षा प्रणाली विकसित गर्ने नगर्ने विषयलाई लिएर चिन्तित देखिएका छन् ।

गोरखापत्र दैनिकबाट…..

प्रतिकृया दिनुहोस्