RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/१०/३० गते
५१६ पटक

काठमाडौँ — गैरआवासीय नेपाली संघ (एनआरएनए) को अग्रसरतामा पूर्वाधार क्षेत्रमा लगानी गर्ने गरी १० अर्ब रुपैयाँको कोष सञ्चालनमा ल्याइने भएको छ । त्यसका लागि एनआरएनएले छुट्टै कम्पनी दर्ताको कार्य अघि बढाएको जनाएको छ ।

अर्थ मन्त्रालयमा बिहीबार बसेको बैठकमा यसरी स्थापना हुने कम्पनीमार्फत उक्त कोषमा नेपाल सरकारका तर्फबाट पूर्वसहमतिबमोजिम ५ प्रतिशत लगानी गर्ने निर्णय भएको छ ।

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले तत्काल उक्त कोष सञ्चालन गर्न रकमसहित आवश्यक अन्य सहयोग गर्ने प्रतिबद्धता जनाए । उनले एक साताभित्र कम्पनी दर्ता प्रक्रिया टुंगो लगाएर काम सुरु गर्न एनआरएनएका अध्यक्ष कुमार पन्तलाई आग्रह गरे । अहिले कम्पनी दर्ताको प्रक्रियामा रहेको र छिट्टै काम सुरु हुने अध्यक्ष पन्तले बताए । पन्तका अनुसार कम्पनीमा एनआरएनएको १० प्रतिशत सेयर रहनेछ ।

साथै विदेशमा रहेका नेपालीहरूको सेयर ८५ प्रतिशत हुनेछ । गैरआवासीय नेपालीहरूलाई लगानीका लागि आईपीओ जारी गरिनेछ । लगानीका क्षेत्रहरूबारे पनि प्रस्ताव आइसकेको पन्तले जानकारी दिए ।

विदेशमा रहेका नेपाली नेपालमा पूर्वाधारको क्षेत्रमा लगानी गर्न उत्सुक रहेको उनले बताए । बैठकमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट, अर्थ सचिव शिशिरकुमार ढुंगाना, राजस्व सचिव रामशरण पुडासैनी, नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी लगायतको उपस्थिति थियो ।

कान्तिपुर दैनिकबाट…….

प्रतिकृया दिनुहोस्