RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/११/२ गते
१०६९ पटक

काठमाडौं,  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको बीचमा गएर निर्वाचन गर्नु ‘प्रतिगमन’ नभएको बताउनुहुँदै निर्वाचन भएर छाड्ने प्रष्ट पार्नुभएको छ ।

नेकपा लुम्बिनी प्रदेशद्वारा शनिबार बुटवलमा आयोजित जनसभालाई सम्बोधन गर्नुहुँदै उहाँले त्यस्तो बताउनुभयो । देश हैन, आफूलाई बनाउन हिँड्ने केही नेताहरु आज सडकमा पुगेको उहाँले बताउनुभयो । “देश बनाउने उद्देश्य नबोकेका तत्वहरु अहिले पार्टी छाडेर बाहिरिएका छन्” उहाँले थप्नुभयो, “चुनाव हुने भनेको कसरी प्रतिगमन ? ताजा जनादेशका लागि जनताबीच जानु कसरी प्रतिगमन ? तपाईहरुले कस्तो व्यवस्था खोज्नुभयो ? ”

“नेपाली भूभाग समेटेर नयाँ नक्सा छाप्ने वित्तिकै पार्टी भित्रका केही नेता विरोध गरे, पदबाट हट्न भने, उधारो होइन नगदानगद चाहियो भन्नुभयो” अध्यक्ष ओलीले थप्नुभयो, “केही व्यक्ति पार्टीबाट चोइटिएर गएपछि पार्टी गतिशील बनेको छ, एकताबद्ध भएको छ ।” पार्टीभित्र शुद्धीकरणको आवश्यकता भएका बेला केही व्यक्ति बाहिरिएपछि शुद्धीकरण भएको उहाँले तर्क गर्नुभयो ।

“निराश हुनुपर्ने कुनै कारण छैन, केही व्यक्ति बाहिर गएका हुन्” अध्यक्ष ओलीले पार्टी पङ्तिलाई आश्वास्त पार्नुहुँदै थप्नुभयो, “सरकारले गरेको राम्रो कामको कहिल्यै प्रशंसा भएन, उहाँहरुले कुनै विकासको काम देख्नुभएन ।” सरकारले तीन वर्षको कामको समीक्षा गर्ने तयारी गरेको बताउनुहुँदै प्रधानमन्त्री ओलीले आउने शनिबार सञ्चारमाध्यम मार्फत प्रत्यक्ष जनतामाझ आउने जानकारी दिनुभयो ।

प्रतिनिधिसभा संविधानसम्मत ढङ्गले विघटन गरेको प्रष्ट पार्नुहुँदै प्रधानमन्त्री ओलीले भन्नुभयो, “देश अस्थिरतातर्फ जाने देखिएपछि, काम गर्न नदिएपछि बहुमतको प्रधानमन्त्रीको हैसियतले संसद विघटन गरेको हुँ ।” संविधान धारा ७६ ९७०, धारा ८५ अनुसार प्रधानमन्त्रीको विशेषाधिकार प्रयोग गरी विघटन गरिएको उहाँले बताउनुभयो । देशलाई अस्थिरतातर्फ अदालतले फर्काउने छैन भन्ने मलाई विश्वास छ उहाँले भन्नुभयो ।

संसद पुनस्र्थापना भएमा संसद किनबेच हुने, अस्थिरता बढने भन्नुहुँदै प्रधानमन्त्री ओलीले भन्नुभयो, “सरकारले नयाँ निर्वाचन घोषणा गरिसकेको छ, नयाँ जनमतमा गएरै अब स्थायित्व कायम हुन्छ ।” मान्छेको टाउको देखाएर होइन, मतपत्रमा खसेको मत ल्याएर हामी देखाउँछौं उहाँले दावी गर्नुभयो । नेपाली जनतलाई झुक्याउने समय अब नरहेको बताउनुहुँदै उहाँले प्रचण्ड–माधव पक्षको झुक्यानमा अब जनता नपर्ने चर्चा गर्नुभयो ।

सबै किसिमका पीडितलाई परिचयपत्रसहित सम्मान दिने र सरकारले उपयुक्त राहत दिने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो । पीडित घरका एक सदस्यलाई रोजगारीको व्यवस्था सरकारले गर्ने उहाँले बताउनुभयो । नेपाललाई समृद्ध मात्र बनाएर नपुग्ने, नेपाललाई सुखी नेपाल बनाउने प्रधानमन्त्री ओलीले प्रतिबद्धता जनाउनुभयो ।

“युवाहलाई भ्रममा पार्न, अराजक बनाउन खोजिएको छ, देश युवाहले बनाउने हो, भ्रममा नपर्नुस्, कसैको अलमलमा नपर्नुस्” प्रधानमन्त्री ओलीले थप्नुभयो, “देश विकासको यस महान अभियानमा सरिक हुनुस् ।”

सरकारलाई बदनाम गर्न खोज्ने केही अपराधी तत्वहरु सक्रिय भएको चर्चा गर्नुहुँदै प्रधानमन्त्री ओलीले भन्नुयभो, “अपराधीहरु पानीमुनि गएपनि छाडिने छैन, निर्मला पन्त, भागरथी भट्ट लगायतको हत्यामा संलग्नलाई कारवाही गरेरै छाडछौं । अपराधीलाई कसैको मिलेमतोमा नजोगाइने उहाँले प्रष्ट पार्नुभयो । सरकारी जमिन आफ्नो बनाउने भूमाफियालाई पनि नछाडिने उहाँले बताउनुभयो ।

“सरकारले गरेको काम उनीहरुले देख्दैनन्, विकासको नेतृत्व गर्ने केपी ओलीलाई लखेट मात्र भन्छन्” प्रधानमन्त्री ओलीले प्रचण्ड–माधव पक्षको कार्यक्रममा गालीपूराण मात्र भएको बताउनुभयो । विरोधीले जति विरोध गरेपनि देश बनाउने अभियान नरोकिने उहाँले प्रष्ट पार्नुभयो । ‘सूर्य’ चिन्ह कहीं नजाने उहाँले नेता तथा कार्यकर्तालाई ढुक्क रहन आग्रह गर्नुभयो ।

नेकपाका महासचिव तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेकपा नफुटेको तर केही स्वार्थी तत्वहरु मात्र अलग भएको बताउनुभएको छ । “नेकपा फुटेको छैन, यो पार्टीलाई फुट्न नेपाली जनताले दिंदैनन्” महासचिव पौडेलले थप्नुभयो, “पार्टीभित्रका केही नेताहरुको व्यवधानका बाबजुद सरकारले विकास निर्माणको काम गरेको छ ।”

मुलुकलाई अलमल र अन्यौलमा रुमलिन नदिइने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो ।
आधिकारिक पार्टी अध्यक्ष ओली नेतृत्वको नेकपा पार्टी भएकाले ‘सूर्य’ चुनाव चिन्ह पनि कहीं नजाने उहाँले बताउनुभयो । सरकारले तोकेको मिति आगामी वैशाख १७ र २७ गतेको निर्वाचनको तयारीमा लाग्न उहाँले आम पार्टी पङ्तिलाई आव्हान गर्नुभयो । आगामी निर्वाचनमा हिजो पराजित ठाउँमा पनि निर्वाचन जित्दै ठूलो पार्टी बन्ने दावी उहाँले गर्नुभयो । विकासमा लुम्बिनी प्रदेशलाई पछाडि पार्न नदिने उहाँले प्रतिवद्धता जनाउनुभयो ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री तथा नेकपा स्थायी कमिटी सदस्य शंकर पोखरेलले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माधवकुमार नेपालको ढाडमा टेकेर अध्यक्ष केपी शर्मा अ‍ोलीको टाउकोमा हान्ने प्रयास गरेपनि आफै सडकमा पछारिनुभएको बताउनुभयो । आगामी निर्वाचनमा ‘प्रचण्ड’ नेतृत्वको पकड क्षेत्र मानिने रोल्पा र रुकुममा समेत नेकपाले निर्वाचन जितेर देखाइदिने उहाँले बताउनुभयो ।

नेकपा नेता तथा उर्जामन्त्री टोपबहादुर रायमाझीले प्रचण्ड–माधव पक्षका नेताहरुसँग धेरै विकल्प नरहेको बताउनुभयो । “कि उहाँहरुले मुल पार्टीसँग टिकट लिएर चुनाव लड्नुप¥यो, कि अर्को पार्टी खोल्नुप¥यो कि मोहन बैद्यसँग मिलेर जानुप¥यो” उहाँहरुसँग अरु विकल्प नरहेको उहाँले बताउनुभयो । मूल पार्टी अध्यक्ष ओली नेतृत्वको पार्टी नै भएको उहाँले दावी गर्नुभयो । प्रचण्ड–माधव पक्षलाई पद मात्र चाहिएकाले जनता त्योसँग सति जान नहुने उहाँले बताउनुभयो ।

पद चाहिएको छ भने निर्वाचनमा जाने आँट गर्नुस्, जित्नुस् र प्रधानमन्त्री हुनुस् नेता रायमाझीले थप्नुभयो, “अहिले मांसाहारी आन्दोलन गर्ने समय होइन, यस्ता कुरामा जनता विश्वास गर्दैनन् ।” विगतमा नेता माधवकुमार नेपाललाई विषवृक्षको संज्ञा दिने नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ अहिले उहाँसँगै मिल्न जानुको कारण पद प्राप्तिका प्रयास भएको उहाँले चर्चा गर्नुभयो ।

कार्यक्रममा उद्योग मन्त्री लेखराज भट्ट लगायतले बोल्नुभएको थियो । सो अवसरमा नेकपा नेता गिरिधारीलाल न्यौपानेद्वारा लिखित पुस्तकको प्रधानमन्त्री ओलीले लोकार्पण गर्नुभएको थियो ।

गोरखापत्र दैनिकबाट………….

प्रतिकृया दिनुहोस्