RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/११/२ गते
७४४ पटक

काठमाडौँ । सरकारले कोभिड-१९ विरुद्ध पहिलो चरणको दोस्रो खोप अभियान सुरु गर्दैछ । पहिलो चरणको दोस्रो प्राथमिकतामा परेका व्यक्तिलाई आजदेखि खोप दिन लागिएको हो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आजदेखि ८ गतेसम्म देशका ७७ जिल्लाका सरकारी संस्थान, सरकारी कर्मचारी, बैंक तथा वित्तीय संस्थामा काम गर्ने र पालिकाका जनप्रतिनिधि र कर्मचारीलाई खोप दिइनेछ । यसैगरी सीमा सुरक्षामा खटिएका सुरक्षाकर्मी, काठमाडौँबाहिर कार्यरत पत्रकार तथा पहिलो चरणमा छुटेका स्वास्थ्यकर्मीलाई पनि खोप लगाइने भएको हो ।

काठमाडौं उपत्यकामा वीर अस्पताल, शिक्षण अस्पताल, राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र, शुक्रराज अस्पताल, प्रसूति गृह थापाथली, सशस्त्र प्रहरी अस्पताल बलम्बु, वीरेन्द्र सैनिक अस्पताल छाउनी, प्रहरी अस्पताल लाजिम्पाट, गङ्गालाल अस्पताल, नेपाल मेडिकल कलेज अत्तरखेल, काठमाडौँ मेडिकल कलेज सिनामङ्गल र निजामती कर्मचारी अस्पताल नयाँ बानेश्वरबाट खोप सेवा लिन सकिनेछ ।

यसअघि अग्रपङ्क्तिमा खटिएका डाक्टर, स्वास्थ्यकर्मी, सरसफाइकर्मीलगायतलाई पहिलो प्राथमिकतामा राखेर खोप दिइएको थियो भने पत्रकार, कूटनीतिक नियोगका कर्मचारी र दूतावासका कर्मचारीले पनि खोप पाएका छन् । सरकारले गएको १४ माघदेखि कोभिड-१९ विरुद्धको खोप अभियान सुरु गरेको हो ।

प्रतिकृया दिनुहोस्