RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/११/४ गते
७९१ पटक

काठमाडैं रूसले नेपालको रेल यातायातको क्षेत्रमा लगानी गर्ने इच्छा व्यक्त गरेको छ । आज भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङसँग उसले रेलको क्षेत्रमा लगानी गर्ने जनाएको हो ।

नेपालका लागि रूसका राजदूत एलेक्सी नोभिकभ नेतृत्वको टोलीले मन्त्री नेम्वाङसँग शिष्टाचार भेटवार्ता गर्दै रेलको विस्तारमा लगानी गर्न सकिने बताएको हो । रुसी रेलवे कम्पनीका तर्फबाट मन्त्रालयमा आशयपत्र बुझाएको छ ।

मन्त्री नेम्वाङले सोभियत युनियन विघटनपछि पछिल्लो समयमा दुई देशबीचमा समन्वय भएर कुनै काम नभए पनि सम्बन्ध सुमधुर रहेको बताउनुभयो । काठमाडौँ उपत्यकाको ट्राफिक व्यवस्थापन र यातायात सहज बनाउन मेट्रो रेलको आवश्यकता रहेको उहाँले बताउनुभयो । उहाँले हाल मेट्रो रेलको रेखाङ्कन, पूर्वसम्भाव्यता अध्ययन र केही खण्डको विस्तृत परियोजना प्रतिवेदन ९डिपिआर० तयारी भइसकेको बताउँदै यी दस्तावेज रुसी पक्षलाई उपलब्ध गराउन तयार रहेको उल्लेख गर्नुभयो ।

मन्त्री नेम्वाङले रुसी पक्षबाट विस्तृत प्राविधिक र आर्थिक प्रतिवेदन प्राप्त भएपछि थप छलफल गर्न तयार रहेको बताउनुभयो । रसिया र अन्य विश्वको विभिन्न मुलुकमा रेलसम्बन्धी त्यहाँको प्रविधि उत्कृष्ट रहेको उल्लेख गर्दै नेपालको लागि समेत कोशेढुङ्गा हुने प्रतिनिधिमण्डलले बताएका थिए । जापानले पहाडी क्षेत्रमा रुसी रेलवे प्रविधि अपनाएको उल्लेख गर्दै प्रतिनिधि मण्डलले नेपाललाई प्रविधि हस्तान्तरण गर्न तयार रहेको बताएका छन् ।

सो भेटवार्तामा द्विपक्षीय हित तथा पारस्परिक सम्बन्धका बारेमा छलफल भएको थियो । रुसी महासङ्घको सहयोगमा निर्माण भएका विगतका परियोजना क्रान्ति अस्पताल, पनौती हाइड्रोइलेट्रिक स्टेशन, पूर्वपश्चिम राजमार्गको पथलैया–ढल्केबर खण्ड, जनकपुर चुरोट कारखाना, कृषि औजार कारखाना, वीरगञ्ज सुगर मिललगायतका परियोजनाका विषयमा छलफल भयो ।

रासस

प्रतिकृया दिनुहोस्