RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/११/४ गते
५४१ पटक

भैरहवा, नेपाली कांग्रेसका सभापति सेरबहादुर देउवाले निर्वाचनको तयारीलाई अगाडि बढाउन निर्वाचन आयोगलाई आग्रह गर्नुभएको छ । निर्वाचन आयोगले प्रभावकारी ढङ्गले चुनावको तयारी नथाल्दा आयोगप्रति शंका उत्पन्न भएको पनि उहाँले बताउनुभयो ।

नेपाली काँग्रेस रुपन्देहीले सोमबार भैरहवामा आयोजना गरेको विरोधसभालाई सम्बोधन गर्दै देउवाले आगमी वैशाखमा हुने निर्वाचनका लागि निर्वाचन आयोगले तयारी नगरेकोप्रति प्रश्न उठाउनुभएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस ५ गते संसद विघटन गरेपछि संवैधानिक व्यवस्था अनुसार त्यसको छ महिना भित्र निर्वाचन गराउनु पर्ने भए पनि त्यो अवस्थामा आयोग तयार नभएको भन्दै देउवाले शंका व्यक्त गर्नुभयो ।

प्रतिनिधिसभा विघटन संवैधानिक वा असंवैधानिक भन्नेबारे सर्वोच्च अदालतमा मुद्दा विचाराधीन भए पनि निर्वाचन आयोगको कामलाई अदालतले रोक नलगाएको बताउँदै उहाँले निर्वाचन आयोगलाई तयारी थाल्न आग्रह गर्नुभयो । “निर्वाचन आयोगले किन चुनाव गर्छु भन्दैन ? आयोगमाथि शंका गर्नुपर्ने भएको छ । किन तालिका सार्वजनिक गर्दैन ?” उहाँले भन्नुभयो–“चुनावको कार्यक्रम किन दिन सकेको छैन ?” देउवाले चुनाव नगराउने हो भने प्रष्ट भन्न आयोगलाई आग्रह गर्नुभयो ।

सभापति देउवाले ओली र प्रचण्डको झगडामा काँग्रेसको कुनै हात नभए पनि नेता कार्यकर्ताहरु दुइतिर विभाजित भएको उल्लेख गर्नुभयो । “यिनको झगडामा हाम्रो पार्टीको कुनै हात छैन । झगडामा हाम्रै पार्टीमा समस्या आएको छ । कसैले ओली ठीक भन्छन् कसैले प्रचण्ड ठीक भन्छन्”–उहाँले भन्नुभयो ।

देउवाले अदालतले चुनावमा जानुपर्छ भन्यो भने तयार हुनुपर्ने बताउनुभयो । उहाँले अदालतलाई विश्वास गर्न पनि आग्रह गर्नुभयो । “अदालतले चुनाव गराउँ भन्छ भने पनि ठीक छ । चुनाव भयो भने त्यो भन्दा ठूलो जनताको अदालतमा जाउँला । अदालतमा विचाराधीन मुद्दामा हामीले यस्तो गर उस्तो गर भन्न मिल्दैन”–देउवाले भन्नुभयो ।

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपा विभाजन भएसँगै चुनाव चिन्हका बारेमा दुबै समूहबाट दाबी भएको अवस्थामा यसको निर्णय निर्वाचन आयोगले समयमै गर्न नसकेकोप्रति देउवाले आलोचना गर्नुभयो ।

सभालाई संबोधन गर्दै नेपाली काँग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँणले काँग्रेस सधै निर्वाचनको पक्षमा रहे पनि प्रतिनिधिसभा विघटनको भने विरोधमा रहेको बताउनुभयो । “हामी चुनावबाट भाग्दैनौ, तर सरकारले समयअगावै प्रतिनिधिसभा विघटन गरेर संविधानको उल्लंघन गरेको छ”–उहाँले भन्नुभयो ।

नेता खाणले सरकारका काम सन्तोषजनक नभएको पनि दावी गर्नुभयो । कम्युनिष्ट सरकारले तीन वर्षको अबधिमा जनताले महशुुुुस गर्ने गरी कुनैपनि काम नगरेको खाणले दावी गर्नुभयो । विरोधसभा अघि काँग्रेसले ¥याली निकालेको थियो ।

गोरखापत्र दैनिकबाट…………..

प्रतिकृया दिनुहोस्