RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/११/६ गते
८३५ पटक

काठमाडौं । सरकारले सबै स्तरका रिसोर्ट, तारास्तरका होटल तथा बुटिक होटलको संकेत चिह्नका रूपमा तारा (स्टार) चिह्न निर्धारण गर्ने भएको छ।

होटलले दिँदै आएको सेवा, गुणस्तर, क्षमतालगायतका विषयलाई मध्यनजर गर्दै स्तर निर्धारण गरी संकेत चिह्न प्रदान गर्ने र उक्त चिह्नलाई सेवाग्राहीले स्पष्टसँग देख्न सक्ने गरी राख्नुपर्ने व्यवस्था गर्न लागिएको पर्यटन विभागद्वारा जारी सूचनामा उल्लेख गरिएको छ।

संकेत चिह्नमा सबैभन्दा माथि सरकारको लोगो, बीचमा होटलले संकेत चिह्नको रूपमा प्राप्त गरेको तारा र सबैभन्दा तल होटलको नाम रहने सूचनामा उल्लेख गरिएको छ।

चिह्नको साइज निश्चित हुने भएकाले सबै होटलहरूले सेवाग्राहीले देख्नेगरी तोकिएको तारा चिह्नसहितको साइनबोर्ड राख्नुपर्नेछ।

यस्तो संकेत चिन्न निश्चित साइजको हुने र उक्त चिन्हलाई होटल, रिसोर्ट तथा बुटिक होटल लगायतका सबै किसिमका होटलले सेवाग्राहीले देख्ने गरी राख्नुपर्नेछ।

सरकारले पर्यटन विभाग तथा यसअन्तर्गतका कार्यालयबाट पर्यटकस्तरको होटलमा स्तर वर्गीकरण भएका र हाल प्रदेश सरकारको सम्बन्धित निकायबाट पर्यटक स्तरको होटलमा स्तर वर्गीकरण भएका होटलको हकमा गोलाकार रेखाभित्र रातो रङमा ‘टिएस’ (अंग्रेजीमा) लेखिएको चिह्नलाई संकेत चिह्नका रूपमा निर्धारण गर्ने निर्णय गरेको छ।

त्यस्तै, मोटल होटलको हकमा गोलाकार रेखाभित्र रातो रङमा एम (अंग्रेजीमा) र पर्यटक इनको हकमा गोलाकार रेखाभित्र रातो रङमा I लेखिएको चिन्हलाई संकेत चिह्नको रूपमा निर्धारण गर्ने भएको छ।

‘बेड एण्ड ब्रेकफास्ट’को हकमा गोलाकार रेखाभित्र रातो रङमा ‘बी एण्ड बी’ (अंग्रेजीमा) लेखिएको चिह्नलाई संकेत चिह्नको रूपमा निर्धारण गरिने भएको छ।

प्रतिकृया दिनुहोस्