RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/११/८ गते
६३६ पटक

कालिकोट : कविता चौलागाई अहिले कक्षा १० मा पढ्छिन्। उनी कालिकोट जिल्लाको शुभकालिका गाउँपालिका–४ मा रहेको महादेव माविमा अध्ययरत छात्रा हुन्।

केही महिना कोरोना भाइरसले विद्यालय नियमित संचालन नभएपनि अहिले खुलेको छ। उनी प्रत्येक दिन विद्यालय त जान्छिन्, तर विद्यालयमा गएपछि उनले आफूलाई पढाउने शिक्षकको अनुहार समेत देख्न पाएकी छैनन्। उनी मात्र होइन, महादेव माविमा अध्ययन गर्न सर्लाही जिल्लाबाट आएका विक्रम शाह रोहनियाले पनि शिक्षकको अनुहार देख्न पाएका छैनन्।

पूर्ण छात्रवृत्तिको कोटाबाट कालिकोटमा कृषि विज्ञान (आइएसीएजी) अध्ययनका लागि आएका शाहले आफू पढ्ने विद्यालयका प्रधानाध्यापक र शिक्षक को हुन् भन्ने मेसो पनि पाउन नसकेको गुनासो गरे। उनले भने, ‘सर्लाहीबाट छात्रवृत्तिमा अध्ययन गर्न आएको १ वर्ष भयो, मैले मेरो विद्यालयका प्रधानाध्यापक को हुन् भन्नेसम्म पनि थाहा पाएको छैन।’

उसो त, विद्यालयमा नियमित प्रधानाध्यापक र शिक्षक उपस्थित हुने भए आफ्ना शिक्षकको अनुहार विद्यार्थीले हेर्न पाउने थिए। विद्यालयमा कहिलेकाहीँ मात्रै आउने गरेका प्रधानाध्यापक दुर्गबहादुर शाहीलाई समेत महादेव माविका विद्यार्थीले राम्ररी चिनिसकेका छैनन्‌।

विद्यालयमा नियमित नआउने प्रधानाध्यापक र शिक्षकलाई कसरी सेवा सुविधा प्रदान गरिन्छ र शिक्षक नियमित छन् भनेर वडाले हाजिरी प्रमाणित भने गरेको भनी विद्यार्थीले प्रश्न उठाएका छन्‌। शुभकालिका गाउँपालिकाको महादेव माविमा आयोजना गरिएको बाल कचहरीमा विद्यार्थीले यस्तो प्रश्न उठाएका हुन्‌।

बालकचहरीमा बोल्दै सोही विद्यालयमा अध्ययनरत सुरेन्द्र पाण्डेले प्राय शिक्षकहरू मद्यपान र धुम्रपान गरेर विद्यालयमा आउने आएपनि नपढाउने भन्दै गुनासो गरेका थिए। महादेव माविमा अध्यापन गराउने अधिकांश शिक्षक मदिरा सेवन गरि विद्यालयमा आउने गरेका छन्।

२०२० सालमा स्थापना भएको विद्यालयको अहिलेसम्म पनि स्तरउन्नती नहुनुमा विद्यालय व्यवस्थापन समिति मुख्य दोषी भएको अभिभावकको गुनासो रहेको छ। महादेव मावि अहिलेसम्म राजनीतिक खिचातानीले विकास हुन नसकेको नागरिकको प्रश्न छ।

अहिलेसम्म पनि विद्यालयको गतिलो भवन छैन। विद्यालयमा कम्प्यूटर ल्याब स्थापना गरिएको छ। तर, अहिलेसम्म हाम्रा नानीबाबुले कम्प्यूटर देख्न नपाएको अभिभावकले बताए।

अधिकांश शिक्षक खेताला

महादेव मावि राराकाटियामा अध्यापन गराउने अधिकांश शिक्षक खेताला रहेको पाइएको छ।

आफ्नो सट्टामा आफ्ना नजिकका मान्छेलाई राखेर सरकारी सेवा-सुविधा आफूले लिने गरेका छन्। महादेव माविमा अध्यापन गराउँदै आएका सामाजिक विषयका शिक्षक सुरेन्द्रबहादुर शाहीले आफन्त परेकबहादुर शाहीलाई सट्टामा राखेर आफू सुर्खेत बस्दै आएका छन्।

विद्यालयमा आफू नियमित नआउने र सट्टामा राखेका शिक्षक पनि नियमित नहुने गरेको विद्यार्थीको गुनासो रहेको छ। १ महिना अघिदेखि सट्टामा राखेका शाही कहिले विद्यालयमा फिर्ता भएर आफैँ अध्यापन गराउने हुन्‌, केही थाहा लागेको छैन।

उनीमात्र होइन, उक्त विद्यालयमा अध्यापन गराउने शिक्षक नियमित विद्यालयमा नआउने आएपनि १ महिनाको हाजिरी एकै पटक गरेर सरकारी सेवा सुविधा हड्पने गरेका छन्। वडा कार्यालयले तत्काल विद्यालय व्यवस्थापन समितिको बैठक राखी यस विषयमा सोधखोज गर्ने जवाफ दिएको छ।

शुभकालिका गाउँपालिका–४ का वडाध्यक्ष रामबहादुर शाहीले प्रधानाध्यापकलाई तत्काल विद्यालयमा बोलाएर यस विषयमा छलफल गर्ने बताएका हुन्‌।

thahakhabar.com…………….

प्रतिकृया दिनुहोस्