RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/११/९ गते
७१५ पटक

सरकारले तरकारी र फलफूलमा जीवनाशक विषादी प्रयोगको मात्रा निर्धारण गरेको छ । हालसम्म तरकारी र फलफूलमा विषादी प्रयोगको मात्रासम्बन्धी कुनै व्यवस्था नभएकोमा पहिलोपटक कृषि तथा पशुपन्क्षी विकास मन्त्रालयले विषादी प्रयोगको मात्रा निर्धारण गरेको हो । यसअघि पाउरोटी, खाद्यान्न लगायतका प्रशोधित उत्पादनमा मात्र विषादी प्रयोगमा मात्रा निर्धारण गरिएको थियो ।

जथाभावी रुपमा विषादीयुक्त तरकारी भित्रिएर यसको विरोध हुन थालेपछि आयात हुने र स्वदेशभित्र उत्पादन दुवै तरकारी तथा फलफूलका लागि जीवनाशक विषादी अवशेष राजपत्रमै सूचना प्रकाशित गरी मात्रा तोकेको छ ।

गत वर्ष सर्वाेच्च अदालतले तररकारी तथा फलफूलमा विषादीको मात्रा निर्धारण गर्न आदेश दिएको थियो । चालू आर्थिक वर्षको बजेट वक्तत्वमार्फत विषादीको परीक्षण गरेर मात्र फलफूलको आयात गर्न भनेको थियो । तर विषादीको अधिकतम मात्रा निर्धारण नभएकाले नियमन र कारबाही गर्न समस्या परेको थियो ।

खाद्य ऐनले दिएको अधिकार प्रयोग गरी खाद्य वस्तुको गुणस्तर निर्धारण गरेर तरकारी र फलफूलमा विषादीको अधिकतम परिणाम निर्धारण गरेको खाद्य प्रविधि तथा गुणस्तर विभागले जनाएको छ । यससम्बन्धी सूचना राजपत्रमा समेत प्रकाशन भएको छ । स्याउ, केरा, करेला, भन्टा, बन्दा, कोभी, भिन्डी, आलु, टमाटर र चियाको जीवनाशक विषादीको अधिकतम मात्रा निर्धारण गरिएको हो ।

विभागले तरकारी र फलफूल गरेर १० वटा उत्पादनमा विषादीको अधिकतम मात्रा निर्धारण गरेको हो । विभागका अनुसार स्याउमा विषादीको प्रकार अनुसार विषादीको मात्रा ०.०५ मिलिग्रामदेखि ५ मिलिग्राम मात्रा निर्धारण गरिएको छ । यस्तै केरामा विषादीको प्रकार अनुसार ०.०१ देखि १५ मिलिग्राम निर्धारण गरिएको छ ।

यस्तै तिते करेलामा ०.०५ मिलिग्राम देखि १ मिलिग्राम सम्म तोएिको छ । यस्तै बन्दामा ०.०५ देखि ७ मिलिग्राम विषादीको अधिकतम मात्रा निर्धारण गरिएको छ । कोभी ०.०५ देखि २ मिलिग्राम, भिन्डी ०.०१ देखि २ सय मिलिग्राम, आलुमा ०.००५ देखि ७ मिलिग्राम निर्धारण गरिएको छ ।

यस्तै टमाटरमा विषादीको मात्र ०.०५ देखि ५ मिलिग्राम र चियामा ०.७ देखि ४० ग्राम विषादीको मात्रा निर्धारण गरिएको छ । तरकारी तथा फलफूलमा तोकिएको मात्रा भन्दा बढी विषादीको प्रयोग गर्न पाइने छैन । फरक फरक तरकारी र फलफूलमा विषादीको प्रकार अनुसार अधिकतम परिणाम निर्धारण गरिएको छ । अन्य खाद्य तथा पेयपदार्थको कैफियत भेटिएपछि खाद्य ऐनअनुसार कारबाही गरिँदै आएको थियो ।

राजपत्रमा सार्वजनिक भएपछि अव तरकारी र फलफूललाई नियमन गर्न सहज हुने विभागले जानकारी दिएको छ । विभागका प्रवक्ता मोहनकृष्ण महर्जनले पहिलो चरणमा १० वटा तरकारी र फलफूलमा विषादीको अधिकतम मात्रा निर्धारण गरिएको जानकारी दिए । यसले तोकिएको मात्रा भन्दा बढी विषादी प्रयोग गरेको फेला परे खाद्य ऐन अनुसार कारबाही गर्ने बाटो खुला भएको उनको भनाई छ ।

खाद्य ऐनमा दुषित पाइएमा ५० हजार जरिवानाको व्यवस्था गरिएको छ । अन्य थप १० तरकारी र फलफूलमा पनि जीवनाशक विषादीको अधिकतम मात्रा निर्धारण गर्न लागिएको उनले जानकारी दिए ।

मुलुकमा उत्पादन भएका र बाहिरबाट आयात हुने तरकारीमा तोकिएको विषादीको मात्राभन्दा बढी प्रयोग गरेको फेला परेमा कारबाही गरिने विभागले जानकारी दिएको छ । छिमेकी मुलुक भारतबाट विषादीयुक्त तरकारी भित्रिरहेका छन् । अब सीमा नाकामा रहेका क्वारेन्टाइनमा परीक्षण गरेर तोकिएको मात्राभन्दा बढी विषादी प्रयोग गरेको पाइए आयातमा प्रतिवन्ध लगाइने विभागले जानकारी दिएको छ ।

विषादी व्यवस्थापन केन्द्रले विषादी अवशेष हेर्नका लागि खाद्य प्रविधि तथा गुणनियन्त्रण विभागलाई दिने तयारी गरेको जानकारी दिएको छ । विभागकै क्षेत्राधिकारभित्र परेकाले विषादीको अवशेष हेर्ने गरी अधिकार हस्तान्तरण गर्नका लागिएको केन्द्रका प्रमुख सहदेव हुमागाईले जानकारी दिए ।

विषादीयुक्त तरकारीले उपभोगले मानव स्वास्थ्यमा असर पर्ने गर्छ । पछिल्लो समय तरकारीमा विषाधीको प्रयोग बढ्दै गएको छ । मुलुकमा विभिन्न प्रकारका विषाधीको प्रयोग हुने गर्छ । सरकारले कतिपय विषादी आयातमा प्रतिवन्ध लगाएको छ ।

कारोबार दैनिकबाट…….

प्रतिकृया दिनुहोस्