RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/११/११ गते
६३५ पटक

स्याङ्जा : कृषि तथा पशुपंक्षी विकास मन्त्री पद्माकुमारी अर्यालले कृषकको खेतबारीमै सरकार जोडिने बताएकी छन्। गृहजिल्ला स्याङ्जाको गल्याङस्थित सार्वजनिक माध्यमिक विद्यालयमा प्राविधिक शिक्षालयको साझेदारीमा सोमबार व्यवसायिक उत्पादन शुभारम्भ गर्दै मन्त्री अर्यालले कृषकलाई व्यवसायीकरणमा आकर्षित गर्न राज्यले विभिन्न कार्यक्रमहरु ल्याउने बताइन्।

मन्त्री अर्यालले भनिन्, ‘कृषि मन्त्रालयले कृषि तथा पशुको विकासका लागी विभिन्न अनुदान र सहुलियतका कार्यक्रमहरु ल्याएको छ। कृषकको खेतबारीमै सरकार जोडिनेछ।’

माटो र हावापनी सुहाउँदो कृषि प्रणालीलाई अबलम्बन गर्नुपर्ने भन्दै उनले कृषिमा प्रविधिको अधिकतम उपयोग गरी कृषि क्रान्ती गर्ने बताइन्। नयाँ सोच र प्रविधिका साथ सरकार अगाडि बढेको भन्दै स्याङ्जा जिल्लामा कृषिको विकासका लागी प्रतिवद्धता व्यक्त गरिन्। ‘एक पालिका एक उत्पादन’का साथ जिल्लालाई कृषिका माध्यमबाट समृद्ध बनाइने समेत उनको भनाई थियो। स्याङ्जामा सुन्तला र कफीको जोन बनाउने कार्य कार्यान्वयन भइरहेको भन्दै अन्य फलफुल तथा तरकारीको जोन बनाइने धारणा राखिन्।

उनले किसानलाई सम्मान गर्ने संस्कारको विकास गर्नुपर्नेमा जोड दिइन्। विगतमा काम गरिनेखाने वर्गलाई हेलाहोचो गर्ने संस्कार परिर्वतन हुँदै आएको बताउँदै उनले अहिले ती गलत कुराहरु परिवर्तन हुँदै किसानलाई सम्मान गर्ने संस्कारको विकास हुँदै गएको दाबी गरिन्।  मन्त्री अर्यालले भनिन्, ‘कृषि कर्म गर्नेलाई होच्याउने होइन हामीले सलाम गर्नुपर्छ। हिजोको सामन्तवादी सोँचलाई परिर्वतन गर्नुपर्छ।’

कृषिकै माध्यमबाट देशलाई समृद्ध बनाउन सकिने धारणा राख्दै उनले कृषिमा आधुनिकिकरण, यान्त्रिकीकरण, व्यवसायीकरणका लागी सरकार विशेष कार्यक्रमका साथ अगाडि बढेको बताइन्। काम नगर्नेलाई ज्यू हजुर गर्ने र काम गर्नेलाई हेला गर्ने होच्याउने संस्कार सामान्तवादी संस्कार भएको भन्दै मन्त्री अर्यालले हिजोका ती गलत संस्कार परिर्वतन भएको दाबी गरिन्।

अन्नपुर्ण पोष्ट दैनिकबाट……

प्रतिकृया दिनुहोस्