RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/११/१३ गते
५३० पटक

काठमाडौं । भगवान पशुपतिनाथ मन्दिरमा सुनको जलहरी (सुवर्ण पीठिका) राखिएको छ । बुधबार पशुपतिनाथ मन्दिरमा राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा १०८ केजी सुनको जलहरी राखिएको हो । गत महिना पशुपतिनाथमा पूजा गर्न जाँदा प्रधानमन्त्री केपी शर्मा ओलीले सुनको जलहरी राख्ने घोषणा गरेका थिए । सोही घोषणाअनुसार बुधबार सुनको जलहरी राखिएको हो ।

सुनको जलहरी राखेपछि राष्ट्रपति भण्डारीले विशेष पूजा गरी फर्किएकी हुन् । पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक डा. घनश्याम खतिवडाले जलहरी राख्ने काम सम्पन्न भएको र अब तीन दिनसम्म क्षमा पूजा गरिने जानकारी दिए । कार्यकारी निर्देशक खतिवडाका अनुसार पशुपति क्षेत्र विकास कोषको पहलमा राखिएको सो जलहरी पशुपतिनाथको दर्शन गर्न जाने भक्तजनले पनि देख्न पाउनेछन् ।

राष्ट्रपति भण्डारीले जलहरी राखेपछि सो जलहरीको शिलालेख अनावरण गरेकी थिइन् । त्यसपछि सुनको जलहरीको प्राणप्रतिष्ठा गरिएको थियो । हाल यहाँ महाकुम्भ रुद्राभिषेक, सवा लाख दीप प्रज्ज्वलन र हवनसमेत भएको कोषले जनाएको छ । जलहरी राख्ने कामको मूलकर्ताका रूपमा प्रधानमन्त्री केपी ओली, कर्ता र साक्षीको रूपमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकाल, मूलभट्ट गणेश भट्ट, पर्यटन मन्त्रालयका सचिव यादवप्रसाद कोइराला, कोषका सदस्यसचिव डा. प्रदीप ढकाल, कोषाध्यक्ष एवं जलहरी निर्माण समितिका संयोजक डा. मिलनकुमार थापा र पुरातŒव विभागका महानिर्देशक दामोदर गौतम रहेका छन् ।

कोषका कोषाध्यक्ष थापाले जलहरी निर्माण कार्यमा करिब ८५ करोड रुपैयाँ खर्च भएको जानकारी दिए । जसमध्ये गत १२ माघमा पशुपतिनाथ मन्दिर पुगेका बेला प्रधानमन्त्री ओलीले ३० करोड रुपैयाँ सरकारका तर्फबाट दिने घोषणा गरेका थिए । सोही रकमसँगै एक जना दाताले २ करोड रुपैयाँ, अर्का एक जना दाताले १ केजी सुन र भक्तजनबाट ४० लाख रुपैयाँ संकलन भएको थियो भने बाँकी रकम कोषले जुटाएको थियो । कोषका अनुसार यसअघि पशुपतिनाथ मन्दिरमा पहिलोपटक तामा, दोस्रोपटक चाँदीको राखिएकोमा यसपटक सुनको जलहरी राखिएको हो । हाल बजारमा कायम भएको सुनको भाउअनुसार यो जलहरी अहिलेसम्मकै धेरै महँगो भएको कोषको भनाइ छ ।

राजधानी दैनिकबाट…………

 

प्रतिकृया दिनुहोस्