RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/११/१५ गते
१०६६ पटक

भारतको ५३ करोड रुपियाँ आर्थिक सहयोगमा धादिङ र सिन्धुपाल्चोकका २५ स्वास्थ्य चौकीको पुनर्निर्माण हुने भएको छ । भारतीय राजदूतावासका  विकास साझेदारी तथा पुनर्निर्माण विभागका प्रमुख तथा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको केन्द्रीय आयोजना कार्यान्वयन इकाई (भवन) का परियोजना निर्देशक डा केएम प्रफुल्लचन्द्र शर्माले शुक्रबार चार सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

भारतीय दूताबासका अनुसार धादिङमा १२ वटा र सिन्धुपाल्चोकमा १३ वटा सरकारी स्वास्थ्य चौकी पुनर्निर्माण हुन लागेको हो । ‘२०७२ सालको भूकम्पले क्षति पुर्‍याइएका यी स्वास्थ्य चौकी नेरु. ५३ करोडको लागतमा पुनर्निर्माण हुन लागेको हो’ भारतीय दूताबासद्धारा जारी विज्ञप्तिमा भनिएको छ ।

स्वास्थ्य चौकी निर्माणका लागि  बोलपत्रदातालाई कार्य हस्तान्तरणका लागि  ठेकेदार र केन्द्रीय आयोजना कार्यान्वयन इकाई (भवन) का बीच चारवटा ठेक्का सम्झौतामा पनि शुक्रवारै हस्ताक्षर भएको छ । स्वास्थ्य चौकीको निर्माणका लागि केन्द्रीय भवन अनुसन्धान संस्थान (सीबीआरआई), रुड्कीले प्राविधिक सहयोग प्रदान गर्नेछ । केन्द्रीय भवन अनुसन्धान संस्थान (सीबीआरआई) भूकम्प प्रतिरोधी पुनर्निर्माण क्षेत्रमा भारतकै शीर्ष संस्थानमा पर्दछ ।

भारतले १० जिल्लाका स्वास्थ्य क्षेत्रमा पुनर्निर्माणका लागि ५ करोड अमेरिकी डलर आर्थिक सहयोग गर्ने प्रतिबद्घता अनुसार १४७ वटा स्वास्थ्य परियोजना मध्ये यी २५ वटा स्वास्थ्य चौकीको पुनर्निर्माण राष्ट्रिय पुनर्निर्माण प्राधिकरण अन्तर्गत हुन लागेको हो । भारतीय दूताबासका अनुसार बाँकी परियोजनाहरु बोलपत्र आव्हान प्रक्रियाको सुरुवाती चरणमा छन् ।

स्वास्थ्य क्षेत्रमा पूर्वाधार संरचना सुदृढीकरण गर्न भारतले सन् २००३ देखि हालसम्म भारत सरकारद्वारा आर्थिक सहयोग पुर्‍याइएका साना विकास परियोजना योजना अन्तर्गतका ४० वटा भन्दा बढी स्वास्थ्य शिविर÷स्वास्थ्य चौकी निर्माण सम्पन्न भइसकेका छन् ।

नयाँ पत्रिका दैनिकबाट…………..

प्रतिकृया दिनुहोस्