RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/११/१७ गते
९५८ पटक

काठमाडौं । पछिल्लो समय निकै नै सार्वजनिक कार्यक्रममा सक्रिय रहेका प्रधानमन्त्री केपी शर्मा ओली सोही क्रमलाई निरन्तरता दिन सोमबार पोखरा जाँदैछन् ।

उनी पोखरामा गएर गण्डकी प्रदेशस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्नेछन् । पार्टीको प्रदेश कमिटीले पोखरा सभागृहमा गर्न लागेको प्रदेशस्तरीय कार्यकर्ता भेलालाई ओलीले सम्बोधन गर्न लागेका हुन् । ओली जहाँ जान्छन् त्यहीं कुनै पनि योजनाको शिलान्यास वा निरीक्षण वा उद्घाटन गर्दै आएका छन् । उक्त क्रम सोमबार पनि हुनेछ ।

उनले गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानको भवन शिलान्यास गर्नेछन् भने पोखरा रंगशालाको निरीक्षण गर्नेछन् ।

यसअघि आइतबार झापाका विभिन्न ३६ योजनाको शिलान्यास, निरीक्षण र उद्घाटन गरेका ओलीले त्यहाँ पुगेर प्रचण्ड–नेपाल समूहलाई संसदबाट आफूलाई हटाएर देखाउन चुनौती दिए ।

ओलीले पुस ५ गते संसद विघटन गरेपछि सर्वोच्च अदालतले फागुन ११ गते संसद ब्युँताइदिए पनि ओलीले पदबाट राजीनामा दिएका छैनन् ।

उनले उल्टै हटाउन चुनौती दिँदै आएका छन् । नेकपा अहिलेसम्म औपचारिक रुपमा नफुटेको भए पनि वैचारिक रुपले भने ओली समूह र प्रचण्ड–नेपाल समूहमा फुटेको छ ।

तर संसदमा यसले मान्यता नराख्ने भएकाले अलमल छ । ओलीले आफू आफ्नो अडानमा चुके पनि कार्यकर्तालाई उकास्न हरेक दिनजसो सार्वजनिक कार्यक्रममा देखिएका छन् ।

प्रतिकृया दिनुहोस्