RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/११/१७ गते
७८० पटक

लहान,१७ गते । गाँउ गाँउमा सिंहदरबार पुगेपछि यसको असर देखिन थालेको छ । कतिपय गाँउको मुहार फेरिदै शहरको रुप लिन थालेको छ । सिरहाको पूर्वी भेगमा लहान बजारमा नै आश्रित हुनुपर्ने दक्षिण भेगका स्थानीयहरु अहिले गाँउमा नै नुनदेखि सुनसम्म सबैथोक पाउन थालेपछि नसोचेको विकास गाँउमा नै भयो भनेर सखुवानन्कारटीका वासिन्दा उत्साहित हुन थालेका हुन् ।

लहान नगरपालिकादेखि दक्षिण भारतीय सीमासम्म रहेको लहान–ठाडी १३ किलोमिटर सडकमा पर्ने सखुवानन्कारक र भगवानपुर गाँउपालिकाका अधिकांश गाँउको चोकमा लाग्ने हटियाहरुमा सहरकै मूल्यमा पाँउने सुनदेखि नूनसम्म सबैथोक पाउन थालेको सखुवानन्कारटी–३ का वडाध्यक्ष महेन्द्रप्रसाद यादवको भनाई छ ।

उहाँ भन्नुहुन्छ,हाम्रो गाँउ महदेवा खरियानी र परिहारपुर गाँउमा फुसको घर विस्थापित हुन पुगेको छ । गाँउमा पक्की सडक बन्यो । पूर्वमा रहेको महदेवा परिहारपुर चोकमा पक्की भवन बनाएर नुनदेखि सुनसम्म सबैथोक पाउने ठूला ठूला पसलहरु संचालनमा आएका छन् । एक किलो नूनको लागि लहान र लौकहा बजार नै जानुपर्ने अवस्थाको अन्त्य भयो ।

केहिवर्ष पहिले हुनेखाने सम्पन्न व्यक्ति र कर्मचारीहरु सबैले लहान बजारमा घर घडेरी खरिद गर्ने लहर नै चलेको थियो । तर अहिले सहरमा जग्गा खर्च गर्न लाग्ने रकमले गाँउमा पक्की घर बनाएर व्यापार पनि संचालन गर्न सक्ने सोच बनाएर गाँउमा नै लगानी गर्न थालेका छन् । गाँउपालिकामा जन प्रतिनिधिहरु आएपछि माहोल बनेको हो ।

अर्का स्थानीय घुरन यादवका अनुसार मेरो छोरा विदेशबाट कमाएर ल्याएको पैसाले गाँउकै पश्चिमपटि बनेको तीनकोनी चोकमा पक्की घर बनाएर थालेको हार्डवेयर पसलबाट महिनाको ५० हजार जति कमाई भइरहेको छ । सहरप्रतिको मोह भङग भएर गाँउमा नै केहि गर्न सकिने सहास जुट्न थालेको घुरन यादव जस्तै अन्य स्थानीयहरुको साझा बुझाई रहेको छ

महदेवा पोर्ताहाका गाँउपालिका अध्यक्ष समेत रहनु भएका सखुवानन्कारटी –३ खरियानीका राम नारायण यादवका अनुसार आफू यतिवेला राजनीतिमा निस्क्रिय भएर धान खरिद बिक्रीको व्यापार गाँउमै लाग्न थालेको हटियामा गरेर आर्थिक रुपमा सम्मपन्न भए । स्थानीय सरकार आएपछि सडक निर्माण गरिदिएपछि हरेक गाँउमा हटिया लाग्ने, गाँउमा हटिया लाग्नथालेपछि कृषकहरु समेत तरकारी,धान र गेहुँ खेतितिर आकर्षित हुन थालेका छन् । विकासले गाँउको मुहार फेरिएकै हो ।

सिरहा जिल्ला समन्वय समितिका प्रमुख रामचन्द्र ठाकुरले १७ वटै स्थानीयतहहरु मध्ये आठ वटा गाँउपालिकाहरुमा समेत सहरी वातावरण बन्न लागेका बताँउदै स्थानीय, प्रदेश र संघीय सरकारबाट आएको बजेटबाट गाँउ गाँउमा निर्माण भइरहेको अस्पताल, विद्यालय, सडक निर्माणको साथै लाग्ने हाटबजारले गाँउपनि सहरकै जस्तै रुपधारण गरेको प्रष्टयाउनुभयो ।

सरकारबाट उपलब्ध बजेटको सहि तरिकाले कार्यान्वयन गराउन सुशासनको प्रत्याभूति दिलाउन जिल्ला स्तरमा एक नागरिक अगुवाहरुको संयन्त्र बनाएर सुशासन र पारदर्शिताको लागि पहल थाल्ने हो भने केहि वर्षमै सिरहाको सम्पूर्ण ग्रामीण भेगको मुहार फेरिने मानव अधिकारवादी देवराज पोखरेलले तर्क गर्नुभयो ।गोरखापत्र दैनिकबाट

प्रतिकृया दिनुहोस्