RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/११/१७ गते
६८० पटक

बझाङ-निजी क्षेत्रको लगानीमा निर्माण भइरहेको सुदूरपश्चिम प्रदेशको कालंगा जलविद्युत् आयोजनाको ९० प्रतिशत निर्माणकार्य सकिएको छ ।

बझाङको बुङगल नगरपालिकामा निर्माणाधीन ६५ मेघावाट क्षमताको कालंगा जलविद्युत् आयोजनाको ९० प्रतिशत निमार्ण कार्य सकिन लागेको हो । झण्डै १० अर्ब रुपैयाँकोे लागत अनुमान गरिएको आयोजनाको ३८.४६ मेघावाटको अपर कालंगाको जलविद्युत् आयोजनाको ८.७ किलोमिटर, १५.३३ मेगावाटको कालंगा जलविद्युत् आयोजनाको ३.४ किलोमिटर र १०.०७ मेगावाट क्षमताको सानीगाड जलविद्युत् आयोजनाको २.९ किलोमिटर सुरुङ निमार्णको काम सकिएको छ ।

१५.३३ मेगावाट क्षमताको आयोजनाको इन्टेक, सुरुङ, पेनस्टक, पाइप जडान र विद्युत्गृह निर्माणको काम पनि सकिएको छ । ९० प्रतिशतभन्दा बढी पूर्वाधार निर्माणको काम सकेको उक्त आयोजनाले यही चैतमा विद्युत् उत्पादनको तयारी गरेको छ ।

सन २०१७ देखि निर्माण सुरु भएको आयोजनाले २०२० भित्रै काम सम्पन्न गर्ने लक्ष्य लिएको थियो । भूगोलले साथ नदिँदा निर्माण कार्यमा ढिलाइ भएको आयोजना कम्पनीले जनाएको छ । आयोजनाको पावर हाउस निर्माण, बाँध, सुरुङ र पेनस्टक पाइप जडानको काम भइरहेकोे छ ।

टनेल निर्माणलाई अन्तिम रूप दिनुका साथै पावर हाउसमा विद्युतीय उपकरण जडानको काम भइरहेकाले समग्रमा ९० प्रतिशत आयोजनाको काम सकिएको आयोजनाका प्रमुख पुष्प चित्रकारले बताए । उनले भने ३८.४६ मेगावाटको अपरकालंगामा टनेल फिनिसिङको काम भइरहेको छ ।

१५.३३ मेगावाटको कालंगा जलविद्युत् आयोजनाको सबै काम सकिएको छ । अब यही चैतमा परीक्षणको तयारीमा छौं ।
सन २०२० भित्रै निर्माणकार्य सम्पन्न गर्ने लक्ष्य लिएको भए पनि कोरोना महामारीले पारेको प्रभाव, भौगोलिक विकटता र वनसम्बन्धी कानुनको झन्झटिलो प्रक्रियाले पनि आयोजना ढिलाइ भएको हो ।

काममा ढिलाइ हुँदा लागत पनि बढेको उनको भनाइ छ । निर्माण सम्पन्नपछि ३ सय ५० जनाभन्दा बढी स्थानीयले रोजगारीको अवसर प्राप्त गर्नेछन् । यो आयोजनाले नेपालमा भइरहेको लोडसेडिङको समस्या कम गर्न सहयोग गर्ने अपेक्षा आयोजनाले लिएको छ । यो आयोजना सुदूरपश्चिमको विकासका लागि कोसेढुंगा सावित हुने कालंगा हाइड्रो प्रालिका संस्थापक वीरेन्द्र मल्लको भनाइ छ ।

उनले भने, “यस क्षेत्रमा विभिन्न उद्योगका लागि आवश्यक कच्चा पदार्थ छन् । विद्युत् नहुँदा उद्योग स्थापना गर्न सकिएको छैन । यो आयोजना निर्माण सम्पन्न भएसँंगै विभिन्न उद्योग स्थापनाका लागि सम्भावना रहेकाले विभिन्न कलकारखाना तथा उद्योगहरू सञ्चालनमा पनि यस आयोजनाले सहयोग पुग्ने छ ।

आयोजना निर्माण सुरु भएसँंगै यस क्षेत्रका युवाले योग्यता र दक्षताअनुसारको रोजगार पाइरहेका छन् । जलविद्युत् आयोजनाका निर्माणका लागि ७५ प्रतिशत बैंकहरूको लगानी र १५ प्रतिशत प्रतिष्ठत व्यापारीको लगानी छ । निजी क्षेत्रको लगानीमा निर्माण हुन लागेको यो प्रदेशकै सबैभन्दा ठूलो जलविद्युत् आयोजना भएको आयोजनाको दाबी छ ।

कारोबार दैनिकबाट………

प्रतिकृया दिनुहोस्