RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/११/२८ गते
८१८ पटक

काठमाडौं–धादिङ जोड्ने नागढुंगा–सिस्नेखोला सुरुङमार्गको २ सय ३३ मिटर खन्ने काम पूरा भएको छ । १६ महिनाभित्र सम्पन्न गर्ने लक्ष्यसहित दिनरात काम भइरहेको सडक विभागले जनाएको छ ।
धादिङतर्फ १ सय ३९ मिटर, काठमाडौंतर्फ मुख्य सुरुङमार्ग ४९ र आकस्मिक मार्ग ४५ मिटर गरी हालसम्म २ सय ३३ मिटर खनिएको नागढुगा–सिस्नेखोला सुरुङ आयोजनाले जनाएको छ । ड्रिलिङ एन्ड ब्लास्टिङ प्रविधिबाट सुरुङ निर्माण भइरहेको छ ।
आयोजना अन्तर्गत पहिलो आकस्मिक सवारीको लागि कुल ४ मिटर चौडाइको र अर्काे ९ मिटर चौडाइको सुरुङ निर्माण हुने छ । विभागका अनुसार, सार्वजनिक यातायातका लागि निर्माण गर्न लागेको सुरुङको लम्बाइ २.६७ किमी, चौडाइ ३.५ किमी, दुवैतर्फ ०.५ मिटर पानी बगाउने नाली, एप्रोच मार्ग, पूर्व लम्बाइ २.३२ किमी र पश्चिम लम्बाइ ०.५६५ किमी निर्माण हुनेछन् । सुरुङमार्गबाट पेट्रोलियम पदार्थ र दुई पाङ्ग्रे सवारीलाई भने प्रतिबन्ध गरिनेछ ।
२४ सै घण्टा करिब ४ सय ४ सय ५० प्रविधिक जनशक्तिसहितको टोलीले सातामा ६ दिन सुरुङमार्ग खन्ने काम भैरहेको आयोजना प्रमुख नरेशमान शाक्यले बताए । “औसतमा ६ देखि ७ मिटरसम्म सुरुङमार्ग खन्ने काम भैरहेको छ,” शाक्यले भने, “धादिङतर्फ खन्नको लागि सहज हुँदै गएको छ । त्यहाँ राम्रो चट्टान भेटिँदै गएकाले दैनिक ६ मिटरसम्म खनिएको छ । काठमाडौंतर्फ राम्रो चट्टान नभेटेकाले गर्दा दैनिक अधिकतम ३ मिटरसम्म खन्ने काम भैरहेको छ ।”
सुरुङ खन्नको लागि निर्माण स्थलसम्म पहुँच मार्ग, खोलामा बेग्लै कल्भर्ट बनाउने काम पूरा भएसँगै सुरुङमार्ग खन्ने काम सुरु भएको थियो । बिहान ७ देखि साँझ ७ बजेसम्म एउटा सिफ्ट र साँझ ७ देखि बिहान ७ बजेसम्म अर्काे सिफ्टमा सुरुङमार्ग खन्ने काम भइरहेकोे छ । “अझ राम्रो चट्टान भेटिएकाले सुरुवातमा भन्दा खन्न सहज हुँदै जाने भएकाले गर्दा दैनिक खन्ने कार्यले थप गति लिने छ,” शाक्यले भने ।
सुरुङमार्ग शिलान्यास भएको १४ महिनापछि चालू वर्षको गत ७ पुसबाट सुरुङ छेड्ने काम थालिएको थियो । ४२ महिनामा निर्माण सम्पन्न गर्ने गरि ०७६ कात्तिक ४ गते प्रधानमन्त्री केपी शर्मा ओलीले २.६७ किलोमिटर लम्बाइको सुरुङमार्गको शिलान्यास गरेका थिए । कोभिड–१९ र आन्तरिक तयारीका कारण निर्माण ढिलो गरी सुरु भएको थियो । सुरुङ २०२२ सम्म निर्माण सम्पन्न गर्ने लक्ष्य सडक विभागको छ ।
केही समय केही ढिलो काम शुरु भएको भए पनि आयोजना तोकिएको समय १६ महिनाभित्रै निर्माण कार्य सम्पन्न हुने विश्वास लिएको आयोजना प्रमुख शाक्यले बताए ।
जापानको निर्माण कम्पनी हाज्मा एन्दो कर्पाेरेसन्ले निर्माणको जिम्मा लिएको सुरुङमार्गको धादिङतर्फ र काठमाडौं तर्फको भागमा एकै साथ खन्ने काम भैरहेको छ ।
सुरुङमार्गले नागढुंगा–सिस्नेखोला करिब ९ किमि दूरीलाई ३ किमिमा छोट्याउने छ । सुरुङमार्ग र फ्लाइओभर नेपालको पहिलो पूर्वाधार हो । नेपाल सरकारको ६ अर्ब र जापान सरकारको १६ अर्ब ऋण सहयोग गरी करिब २२ अर्ब रुपैयाँ लगानीमा निर्माण हुन लागेको हो ।

करोबार दैनिकबाट

प्रतिकृया दिनुहोस्