RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/११/२८ गते
५०० पटक

काठमाडौं,    यसअघि एमालेमा रहेका २४१ केन्द्रीय सदस्य तथा पछिल्लो समय नेकपा (माओवादी केन्द्र) परित्याग गरी एमालेमा आउनुभएका २३ जनालाई केन्द्रीय सदस्यमा राखी १० औं महाधिवेशन आयोजक कमिटी विस्तार गरेको छ ।

बैठकमा सहभागी हुनुभएका केन्द्रीय सदस्य दिपक देवकोटाकाअनुसार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज दुई चरणको बैठक सम्पन्न भयो । बैठकले पार्टी अध्यक्ष तथा महासचिव बाहेक सबै पदाधिकारीको पद खारेज गरेको छ ।

केन्द्रीय सदस्य देवकोटाकाअनुसार प्रदेश १ को इन्चार्जमा सुवासचन्द्र नेम्वाङ, प्रदेश २ मा सत्यनारायण मण्डल, बागमती प्रदेशमा रामबहादुर थापा ‘बादल’, उपत्यकाको इन्चार्जमा आनन्द पोखरेल, गण्डकी प्रदेशमा पृथ्वीसुब्बा गुरुङ, लुम्बिनीमा शंकर पोखरेल, कर्णालीमा यामलाल कँडेल, सुदूरपश्चिममा लेखराज भट्टलाई इन्चार्जको जिम्मेवारी तोकिएको छ ।

केन्द्रीय सदस्य देवकोटाकाअनुसार एमालेको नवौ महाधिवेशनपछि बसेको नवौ बैठकले २४१ सदस्यीय केन्द्रीय कमिटी कायम गरेको थियो । आज बसेको दशौं बैठकले २३ जना थप गरी २६४ पु¥याएको छ । माओवादीबाट थप भएका नेताहरुमा रामबहादुर थापा बादल, टोपबहादुर रायमाझी, लेखराज भट्ट, मणी थापा, गौरीशंकर चौधरी, प्रभु साह लगायत हुनुहुन्छ ।

आजको बैठकले अवको ६ महिना भित्र जिल्लाको अधिवेशन सम्पन्न गर्ने निर्णय पनि गरेको छ । केन्द्रीय सदस्य देवकोटाकाअनुसार आजको बैठकले विधानको दफा ६५ (३) खारेज गरी उमेर हदको व्यवस्थालाई फुकुवा गरेको छ । यसअघि सो दफामा ७० वर्ष उमेर पुगेकाले राजनीतिबाट अवकास लिने व्यवस्था थियो । अहिले त्यो व्यवस्था खारेज गरिएको नेता देवकोटाले बताउनुभयो ।

आज १० औं र ११ औं बैठक सम्पन्न भएको र १२ औं बैठक चैत ७ गतेका लागि आव्हान भएको नेता देवकोटाले जानकारी दिनुभयो । ७ गतेको बैठकमा माधवकुमार नेपाल पक्षका सबै केन्द्रीय सदस्यहरुलाई पनि जानकारी गराउने निर्णय बैठकले गरेको केन्द्रीय सदस्य देवकोटाले जानकारी दिनुभयो । उहाँकाअनुसार १० औं महाधिवेशनको मिति तय भएपनि स्थान अझै तय भएको छैन । बैठकले आगामी असार मसान्तभित्र पार्टीका सबै सदस्यता नविकरण गरी अध्यावधिक गरिसक्ने निर्णय पनि गरेको छ ।

प्रतिकृया दिनुहोस्