RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/११/२९ गते
६०९ पटक

काठमाडौं । कोरोना भाइरस संक्रमण जोखिम कायम रहे पनि हेलचेक्र्याइँ बढ्दै गएको छ । संक्रमितको संख्या दैनिक घट्दै गए पनि जोखिम भने यथावत् रहेको विज्ञहरूले बताएका छन् ।

अहिले मानिसहरू दिन प्रतिदिन विभिन्न ठाउँमा भेला हुनेक्रम बढिरहेको छ । यस्तै, विद्यालय, यातायात, फिल्म हलहरू सञ्चालनमा आउन थालेका छन् । दैनिकजसो प्रदर्शन भइरहेको छ । तर, भौतिक दूरी कायम हुन सकेको छैन भने मास्कको पनि समुचित तवरले प्रयोग भइरहेको छैन ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले दैनिक संक्रमित दर घट्दै गए पनि जोखिम कायमै रहेको बताए । उनले भने, ‘मास्कको उचित प्रयोग गरौं, हेलचेक्र्याइँ नगरौं । जनस्वास्थ्यका मापदण्डहरू पालना गरांै ।’ उनले खोप लगाउनसमेत प्राथमिकता निर्धारण गरिएका नागरिकलाई अनुरोध गरे । उनले भने, ‘कोरोनाले फेरि भयानक रूप पनि लिन सक्छ । आफ्नो पालोमा खोप लगाएर सुरक्षित हुनुहोस् ।’

यसैबीच, देशभर शुक्रबार ४८ जनामा कोरोना संक्रमण देखिएको छ । योसँगै कुल संक्रमितको संख्या २ लाख ७५ हजार १ सय १८ जना पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । जसमध्ये ९ सय २९ जना सक्रिय संक्रमित छन् । पछिल्लो २४ घण्टामा २ हजार ५ सय १२ जनाको पीसीआर परीक्षण गर्दा ४८ जनामा कोरोना पुष्टि भएको छ । योसँगै नेपालमा पीसीआर परीक्षण हुनेको संख्या २२ लाख १० हजार ४ सय ३४ पुगेको छ ।

पछिल्लो २४ घण्टामा कुनै पनि कोरोना संक्रमितको मृत्यु भएको छैन । हाल ५१ जना क्वारेन्टाइनमा छन् । गत २४ घण्टामा ६१ जना उपचारपछि डिस्चार्ज भएका छन् । योसँगै नेपालमा निको हुनेको संख्या २ लाख ७१ हजार १ सय ७७ पुगेको छ ।
अहिले चलिरहेको खोप अभियानमा ६५ वर्षमाथिका १७ लाखलाई खोप लगाउने लक्ष्य छ । जसमध्ये हालसम्म ९ लाख ११ हजार ९ जनाले खोप लगाएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. गौतमले बताए । लक्ष्यअनुसार अझै ७ लाख ८८ हजार ९ सय ९१ जनालाई खोप लगाउन बाँकी छ ।

पहिलो र अहिले चलिरहेको अभियान गरी बिहीबार साँझ ७ बजेसम्म १३ लाख ४९ हजार ८ सय ८८ जनाले खोपको पहिलो मात्रा लगाएका छन् ।

राजधानी दैनिकबाट

प्रतिकृया दिनुहोस्