RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/११/२९ गते
४९८ पटक

काठमाडौँ, आगामी शैक्षिक सत्रमा विद्यालय तहका विद्यार्थीले जेठ महिनाभित्रै नयाँ पाठ्यपुस्तक हात पार्ने भएका छन् । जेठभित्र पाठ्यपुस्तकको प्रकाशन गरी विद्यार्थीको हातमा पु¥याउने गरी आवश्यक काम भइरहेको जानकारी जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले दिएको छ ।

केन्द्रका प्रबन्ध सञ्चालक अनिलकुमार झाले नयाँ शैक्षिक सत्रमा विद्यालयमा अध्ययन गर्ने विद्यार्थीलाई नयाँ पाठ्यपुस्तकको अभाव हुन नदिइने प्रतिबद्धता जनाउनुभयो । यसका लागि कुनै समस्या नरहेको उहाँले बताउनुभयो । त्यसका लागि चैत र वैशाख महिनाभित्र पाठ्यपुस्तकको छपाइ पूरा गर्ने केन्द्रको योजना छ ।

कक्षा ६ बाहेक अब झन्डै १० लाख थान पुस्तक छपाइ गर्न बाँकी रहेको जनाइएको छ । गत वर्ष एक करोड ६३ लाख थान पाठ्यपुस्तक छपाइ कार्य केन्द्रले पूरा गरिएको थियो । यस पटक पनि त्यसलाई नै आधार मानेर पुस्तक प्रकाशन गरिने जनाइएको छ ।जेठ महिनामा विद्यार्थीको हातमा पाठ्यपुस्तक पुगेपछि असार १ गतेबाट सुरु हुने शैक्षिक सत्रलाई सहज तरिकाले अगाडि बढाउन सकिने उहाँको भनाइ छ ।

सरकारले यस पटक जेठ महिनाभरि विद्यालय तहको वार्षिक परीक्षा पूरा गरी असार १ गतेबाट नयाँ शैक्षिक सत्र सुरु गर्ने निर्णय गरिसकेको छ । यसको कार्यान्वयनका लागि जनक शिक्षाका तर्फबाट आवश्यक काम गरिने जनाइएको छ । विद्यालय तहको पाठ्यपुस्तक प्रकाशन गर्ने जिम्मेवारी केन्द्रलाई दिइएको छ ।

सोअनुसार हाल कक्षा ११ मा अध्ययनरत विद्यार्थीको अनिवार्य विषयका विद्यार्थीको पुस्तक छपाइ तथा बिक्रीवितरणको कार्य गरेको थियो । अब कक्षा १२ का अनिवार्य विषयको पुस्तकसमेत छपाइ गर्ने योजना छ । कक्षा ११ र १२ विद्यालय शिक्षामा आएपछि केन्द्रको जिम्मेवारी थप गरिएको छ ।

जनक शिक्षाले हालसम्म कक्षा ६ मा अध्ययन गर्ने विद्यार्थीको पाठ्यपुस्तक छपाइ कार्य भने सुरु गरेको छैन । पाठ्यपुस्तक प्रकाशनका लागि पाठ्यक्रम विकास केन्द्रबाट स्वीकृति आउन बाँकी रहेकाले कक्षा ६ को छपाइ कार्य हुन नसकेको जनाइएको छ ।

आगामी शैक्षिक सत्रमा उक्त कक्षामा पूरै सेट नयाँ परिवर्तन गरिएको छ । कक्षा ६ का विद्यार्थीलाई २८ लाख थान पुस्तक छपाइ गर्नुपर्ने हुन्छ । २० प्रतिशतको हाराहारीमा पुस्तक छपाइ कार्य बाँकी रहेको जनाइएको छ ।

गोरखापत्र दैनिकबाट …………..

प्रतिकृया दिनुहोस्