RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/१२/२ गते
४९९ पटक

काठमाडौं । संसद पुनस्थापिनापछि बदलिएको मुलुकको राजनीतिक ‘कोर्स’अनुसार नै सत्तारूढबाहेकका दल सरकार फेरबदलको प्रयासमा निरन्तर लागेका छन् । तर उनीहरूको गठबन्धन सशक्त बन्न नसक्दा नयाँ सरकार बन्ने स्पष्ट आधार तय हुन सकेको छैन ।

एमाले र माओवादी केन्द्रबीच एकीकरणपछि गठन भएको नेकपा खारेज गर्ने सर्वोच्चको फैसलासँगै बदलिएको राजनीतिक वातावरणकै बीच दल नयाँ सत्ता गठबन्धनको प्रयासमा जुट्दै आइरहेका हुन् । तर उनीहरूको प्रयासले सार्थकता पाउन सकेको छैन ।

संसद्को दोस्रो ठूलो दल कांग्रेस पछिल्ला दिनमा एकमतका साथ दृश्यमा देखिन थालेको छ भने तेस्रो भूमिकामा रहेको माओवादी केन्द्रसमेत वर्तमान सरकारको विकल्प खोज्जेगरी अघि बढिरहेको छ । तर संसद्मा चौथौं भूमिकामा स्थापित जनता समाजवादी पार्टीभित्र भने सरकारको विकल्प खोज्ने कि ओली नेतृत्वको सरकारलाई नै सघाएर अघि बढ्ने भन्नेमा अन्योल छ ।

अन्योलकै बीचमा कांग्रेस, माओवादी र जसपा गरी तीन दलका बीचमा नयाँ सत्ता गठबन्धन गर्न भन्दै औपचारिक छलफल र संवाद पनि जारी नै छन् । यी तीन दलबीचको छलफल र संवादले भने निर्णायक गति लिन सकिरहेका छैनन् ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस सरकारको नेतृत्वबाट प्रधानमन्त्री केपी ओलीको विकल्प खोज्न र नयाँ सरकारको नेतृत्व गर्न तयार भएको छ । कांग्रेसभित्रको वरिष्ठ नेता रामचन्द्र पौडेल तथा कृष्णप्रसाद सिटौला समूह सरकारको नेतृत्वका लागि सभापति देउवालाई अघि सार्ने निर्णयसहित अघि बढेपछि देउवासमेत सरकारको नेतृत्व गर्न तयार भएका हुन् ।

कांग्रेसले औपचारिक रूपमा नै सत्ता गठबन्धनका लागि भनेर दलबीच संवादको सुरुवात गरिसकेको छ । कांग्रेसले गत शुक्रबार जसपालाई समेत बोलाएर नयाँ सरकार गठनबारे छलफल गरेको थियो भने माओवादी केन्द्रसँग समेत कांग्रेसले आन्तरिक रूपमा संवाद चलाइरहेकै छ ।

कांग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महतले सरकारको नेतृत्व गर्न कांग्रेस तयार रहेको र परिपक्व वातावरणको पर्खाइमा कांग्रेस अघि बढिरहेको बताए । ‘देशलाई संकटबाट मुक्त गर्न कांग्रेस तयार छ, कांग्रेसले सरकारको नेतृत्व गर्न सक्छ तर परिपक्व वातावरण बन्नुप¥यो, त्यो अवस्थाको पर्खाइमा कांग्रेस छ,’ कांग्रेस सहमहामन्त्री महतले राजधानीसँग भने ।

उनका अनुसार कांग्रेसले नयाँ सरकार बनाउन माओवादी केन्द्र र जसपाबाट भरपर्दो विश्वासको वातावरण खोजिरहेको हो । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस सभापति देउवालाई सरकारको नेतृत्वका लागि साथ दिने बताइसकेका छन् ।

पछिल्लोपटक एमाले र माओवादी केन्द्र फरकफरक दलको भूमिकामा पुगेपछिसमेत प्रचण्डले देउवालाई सरकारको नेतृत्व लिनेगरी अघि बढ्न आग्रह गरिसकेका छन् । आइतबार बसेको माओवादी केन्द्रको केन्द्रीय समिति बैठकले समेत नयाँ सरकार गठन गर्न दलबीच गठबन्धनको प्रयास गर्ने निर्णय गरेको प्रवक्ता नमरायणकाजी श्रेष्ठले जानकारी दिए ।

राजधानी दैनिकबाट………..

 

प्रतिकृया दिनुहोस्