RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/१२/२ गते
७२८ पटक

काठमाडौँ — सेयर बजारमा आइतबार ५१ अंकभन्दा बढीको गिरावट आएको छ । अघिल्लो दिनको तुलनामा २ प्रतिशतभन्दा धेरैले घटेपछि समग्र नेप्से २ हजार ४ सय ७.२५ विन्दुमा ओर्लिएको छ । यो दिन कारोबार सुरु भएदेखि नै घट्न थालेको नेप्से मध्याह्नपछि झनै उच्च दरले ओरालो लाग्यो । जलविद्युत्, होटल्स र टुरिजम्सबाहेक सबै उपसमूहका परिसूचक घटेपछि समग्र नेप्से उच्च दरले ओरालो लागेको हो ।

आइतबार करिब ६१ हजार कारोबारबाट २ सय ११ कम्पनीका ९९ लाख ३ हजार कित्ता सेयर किनबेच भए । ती किनबेचबाट ४ अर्ब ९५ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । अघिल्लो कारोबार दिनको तुलनामा यो रकम बढी हो । गत बुधबार सेयर बजारमा ४ अर्ब १० करोड रुपैयाँ बराबरको कारोबार भएको थियो । उक्त दिन कारोबारमा आएका १३ वटा समूहमध्ये जलविद्युत् उपसमूहका परिसूचक २.५४ प्रतिशत र होटल्स एन्ड टुरिजम्स उपसमूहका परिसूचक २.५४ प्रतिशतले बढे । बाँकी समूहका परिसूचक भने घटे ।

गत साता तीन दिन मात्र सेयर कारोबार भयो । तर सबै दिन नेप्से घट्यो । पछिल्ला दिनमा वित्तीय प्रणालीमा तरलतामा कमी आएको छ । योसँगै बैंक तथा वित्तीय संस्थाले निक्षेपको ब्याजदर बढाउन थालेका छन् । निक्षेपको ब्याजदर बढ्नु कर्जा ब्याजदर वृद्धिको संकेत हो । अनुमान गरिएअनुसार नै कर्जाको ब्याजदर बढ्यो भने सबैभन्दा पहिले सेयर धितोमा कर्जाको ब्याजदर बढ्छ । यसकारण लगानीकर्ताले त्यस्तो अवस्था आउनुअघि नै नाफा सुरक्षित गर्न थालेकाले केही दिनयता बजारमा बिक्री चाप परेको जानकारहरू बताउँछन् । खासगरी अल्पकालीन लगानीकर्ताले सेयर बिक्रीमार्फत नाफा बुकिङ गर्न थालेको धितोपत्र ब्रोकरहरू बताउँछन् ।

त्यसो त चालु आर्थिक वर्षको ६ महिनामा बैंक तथा वित्तीय संस्थाले ७५ अर्ब ७० करोड रुपैयाँ सेयर धितोमा कर्जा प्रवाह गरेका छन् । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा चालु आर्थिक वर्षको ६ महिनामा यस्तो कर्जा ६५.८ प्रतिशत बढेको हो । २०७६ पुसमा बैंक तथा वित्तीय संस्थामा सेयर धितोमा ४५ अर्ब ६६ करोड रुपैयाँ प्रवाह गरेका थिए । गत असारको तुलनामा पुससम्म बैंक तथा वित्तीय संस्थाको यस्तो कर्जा ५०.२ प्रतिशत बढेको छ । गत असारमा यस्तो कर्जा ५० अर्ब ४० करोड रुपैयाँ थियो ।

कान्तिपुर दैनिकबाट…………….

प्रतिकृया दिनुहोस्