RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/१२/२ गते
५२१ पटक

आगामी आर्थिक वर्ष २०७८-०७९ का लागि राष्ट्रिय योजना आयोगले साढे १५ खर्ब रुपैयाँको बजेट सिलिङ तोकेको छ । योजना आयोगका उपाध्यक्ष डा. पुष्पराज कँडेलको संयोजकत्वमा रहेको स्रोत समितिले ढिलो गरी सोबराबरको बजेट सिलिङ तोकेको हो ।

यद्यपि यसलाई योजना आयोगले सार्वजनिक नगरी अझै गोप्य राखेको छ । स्रोत समितिले अर्थ मन्त्रालयमा पठाएको बजेटको सिलिङमा आगामी वर्षका लागि अघिल्लो वर्षको बजेटभन्दा झण्डै ७५ अर्ब बढी तोकिएको छ । यो चालू वर्षको भन्दा करिब ५ प्रतिशतमात्र बढी हो ।

आयोगले साढे १५ खर्बको बजेट सिलिङ पठाए पनि आगामी वर्ष हुने चुनावलाई लक्षित गरी लोकप्रिय कार्यक्रम थप्ने गरी बजेटको आकार बढाउने सम्भावना भने रहेको सम्वद्ध स्रोतले बताएको छ ।

स्रोतका अनुसार चालू प्रक्षेपित बजेटकै लागि स्रोत व्यवस्थापन कठिन हुने भए पनि अझ बढाएमा झन् स्रोत व्यवस्थापन गर्न मुश्किल हुनेछ । प्रधानमन्त्री केपी शर्मा ओलीले चुनावलक्षित भाषणमा बृद्धभत्ता बढाउने भनिरहेकाले पनि योजना आयोग दवावमा परेको छ ।

मध्यकालीन खर्च संरचनाले आगामी वर्षका लागि १६ खर्ब ९७ अर्ब ५७ करोड रुपैयाँ बराबरको बजेट प्रक्षेपण गरेको छ । तर कोरोना महामारीपछिको कमजोर अर्थतन्त्रलाई मध्यनजर गर्दै स्रोत कमजोर भएका कारण योजना आयोगले केही घटाएको हो ।

आयोगका उपाध्यक्ष कँडेलले मध्यकालीन संरचनाअनुसार नै बजेट सिलिङ हुने भए पनि कोभिडका कारणले केही घटेको बताए । ‘यो खासै सार्वजनिक गर्ने विषय होइन । मध्यकालीन खर्च संरचना अनुसार नै हुने हो, कोभिडको कारणले केही घटेको छ,’ उनले भने ।

केपी ओली नेतृत्वमा आएपछि पहिलो बजेट १३ खर्ब १५ अर्ब र दोस्रो बजेट १५ खर्ब ३२ अर्ब रुपैयाँ र तेस्रो अर्थात चालु बर्षको बजेट १४ खर्ब ७४ अर्ब छ । अर्थ मन्त्रालयले प्रत्येक मन्त्रालय र निकायलाई भने बजेटको सिलिङ पठाईसकेको छ तर सार्वजनिक गरेको छैन ।

मन्त्रालयले पनि बजेट मस्यौदा लेखनको प्रकृया सुरु गरिसकेको छ । संवैधानिक व्यवस्था अनुसार सरकारले १५ जेठमा आगामी वर्षको लागि बजेट पेस गर्नुपर्ने प्रावधान अनुसार अब २ महिना १५ दिन मात्र बजेट आउन बाँकी छ ।

कारोबार दैनिकबाट…………………

प्रतिकृया दिनुहोस्