RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/१२/२ गते
५७८ पटक

काठमाडौँ । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय सदस्यहरुका लागि चियापान कार्यक्रम आयोजना गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बिहान ११ बजेदेखि चियापान तथा अनौपचारिक भेटघाट कार्यक्रम राखिएको हो ।

प्रधानमन्त्री ओलीको तर्फबाट पठाइएको एसएमएस वरिष्ठ नेता माधव कुमार नेपाल र झलनाथ खनाललाई पनि पुगेको छ । चियापान कार्यक्रममा नेपाल पक्षका सबै नेतालाई डाकिएको हो । ओलीका प्रमुख स्वकीय सचिव इन्द्र भण्डारीले एसएमएसमार्फत सो कार्यक्रममा उपस्थित हुन निम्तो पठाएका हुन् ।

ओलीले यही चैत ७ एमाले केन्द्रीय कमिटी बैठक बोलाएका छन् । उक्त बैठकमा सहभागी हुने सबै केन्द्रीय सदस्यहरुलाई चियापानको निम्तो दिइएको हो । यसलाई ओली पक्षले चैत ७ को बैठकका लागि पूर्वतयारी र आत्मियता बढाउने माध्यमका रुपमा व्याख्या गरेको छ ।

तर सर्वोच्चको निर्णयपछि पार्टी २०७५ जेठ २ को अवस्थामा पुगेका बेला ओलीले विधानविपरीत आफूखुसी जिम्मेवारी हेरफेरसहितका गतिविधि गरेपछि नेपाल पक्ष चिढिएको छ । यहिबीच प्रधानमन्त्री ओलीले एकलौटी केन्द्रीय समिति बैठकबाट अध्यक्ष र महासचिवबाहेक पदाधिकारी खारेज गरिदिएका छन् ।

यस्तोमा ओलीले चियापान गरेर अवस्थालाई सामान्यीकरण गर्न खोजिएको भनिए पनि नेपाल पक्ष त्यो कुरा मान्न तयार छैन । उसले एमालेभित्र समानान्तर अभ्यास थालिसकेको छ ।

प्रतिकृया दिनुहोस्